+
Search

ताजा अपडेट +

पपुलर +

विदेशी मुद्रा सञ्चिति ३३ खर्ब, १८ महिनाको वस्तु तथा सेवा आयात धान्ने

पालिका लाइभ
२०८२ फाल्गुन २७, बुधबार

काठमाडौं- सरकारसँग १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने ३३ खर्ब २ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ माघमसान्तसम्मको तथ्यांकमा यस्तो देखिएको हो।

गत आर्थिक वर्षसम्म सरकारसँग २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको थियो। सात महिनाको अवधिमा २३.३ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ माघ मसान्तमा २१.२ प्रतिशतले वृद्धि भई २९ खर्ब २६ अर्ब ९९ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ माघ मसान्तमा ४२.८ प्रतिशतले वद्धि भई ३ खर्ब ७५ अर्ब ६७ करोड कायम भएको छ। २०८२ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८२÷८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ