+
Search

ताजा अपडेट +

पपुलर +

भावी अर्थमन्त्री स्वर्णिम वाग्लेकाे सचिवहरूलाई फोन, ‘शक्तिशाली सरकार आउँदै छ, कुनै निर्णय नगर्नू’

फाइल तस्बिर
पालिका लाइभ
२०८२ फाल्गुन २५, सोमबार

काठमाडाैं– निर्वाचन परिणाम सार्वजनिक हुने चरणमा पुगेसँगै नयाँ सरकार गठनको बहस तीव्र भइरहेका बेला प्रशासनिक संयन्त्रमा पनि त्यसको प्रभाव देखिन थालेको छ।

स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेले मुख्यसचिवसहित विभिन्न मन्त्रालयका सचिवहरूलाई फोन गरेर तत्काल दीर्घकालीन प्रभाव पार्ने निर्णयहरू नगर्न सुझाव दिएका हुन्।

स्रोतका अनुसार वाग्लेले सचिवहरूसँगको ‘अब शक्तिशाली सरकार बन्ने परिस्थिति बनिसकेको’ भन्दै नयाँ सरकार गठन नभएसम्म महत्त्वपूर्ण नीतिगत निर्णयहरू नगर्न भनेका हुन् । उनले रास्वपा बलियो जनसमर्थनसहित सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको उल्लेख गर्दै अहिले भइरहेका वा प्रक्रियामा रहेका निर्णयहरूलाई यथास्थितिमा राख्न आग्रह गरेको बताइएको छ।

रास्वपा नेतृत्वले भने निर्वाचनपछि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने भन्दै सरकार गठनको तयारी गरिरहेको संकेत विभिन्न माध्यमबाट दिइरहेको छ। सोही सन्दर्भमा वाग्लेले सचिवहरूलाई सम्पर्क गरेको चर्चा सिंहदरबारभित्र तीव्र भएको हो।

स्रोतकाअनुसार हालको सरकार मुख्यतः निर्वाचन सम्पन्न गराउने जिम्मेवारी बोकेको ‘नागरिक सरकार’ भएकाले यसले दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्ने सम्भावना कम रहेको पनि चर्चा गरिएको छ। ‘निर्वाचन गराउने जिम्मेवारी लिएको सरकारले त्यस्तो के दीर्घकालीन असर पर्ने निर्णय गर्थ्यो होला र?’ स्रोतले भन्यो।

यद्यपि सरकारमा नपुग्दै प्रशासनिक संयन्त्रमा दबाब दिन खोजिएको अनुभूति भने सरकारी वृत्तमा देखिएको स्रोतको दाबी छ। त्यही कारणले पनि पछिल्लो समय मन्त्रिपरिषद् बैठक बस्न नसकेको चर्चा सिंहदरबारभित्र सुनिएको छ। यस विषयमा प्रधानमन्त्रीसमेत असन्तुष्ट रहेको बुझिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ