गोरखा- गोरखा–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कवीन्द्र बुर्लाकोटीको जित लगभग निश्चित देखिएको छ। मतगणनाको पछिल्लो परिणामअनुसार उनी निकटतम प्रतिस्पर्धीभन्दा १० हजार ९९२ मतले अगाडि छन्।
यद्यपि मतगणना भने अझै जारी रहेको छ।
यस क्षेत्रमा कुल ५७ हजार २४८ मत खसेको थियो। हालसम्म ४७ हजार ९१६ मत गणना सम्पन्न भइसकेको छ। गणना भएका मतमध्ये ४५ हजार ४८१ मत सदर भएका छन् भने २ हजार ४३५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
हालसम्मको परिणामअनुसार रास्वपाका महामन्त्रीसमेत रहेका बुर्लाकोटीले २१ हजार ५३७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले १० हजार ५४५ मत पाएका छन् भने नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेले ९ हजार ७०९ मत प्राप्त गरेका छन्।
मतगणनाको हालसम्मको अवस्थाअनुसार बुर्लाकोटी र दवाडीबीचको मतान्तर १० हजार ९९२ पुगेको छ। अहिले पालुङटार नगरपालिका–६, ७, ८, ९ र १० का ९ हजार ३३२ मत गणना गर्न बाँकी छन्। तीमध्ये वडा नम्बर ९ बुर्लाकोटीको गृह वडासमेत हो।
बाँकी रहेको मत संख्या भन्दा बुर्लाकोटीको अग्रता धेरै भएकाले सबै मत प्रतिस्पर्धीको पक्षमा गए पनि नतिजा उल्टिने सम्भावना नरहेकाले उनको जित लगभग निश्चित देखिएको हो।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन पुर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पराजित भएका बुर्लाकोटीले यस पटक भने जित हासिल गरेका हुन्।
यस निर्वाचनमा गोरखा–२ का मा ५७ हजार २४८ (५२.७४ प्रतिशत) मत खसेको थियो। जसमध्ये गोरखा नगरपालिका (८–१४) मा १० हजार ७८४, सिरानचोक गाउँपालिकामा १० हजार ८०४, पालुङटार नगरपालिकामा १८ हजार २२२, अजिरकोट गाउँपालिकामा ६ हजार ७५६ र बारपाक सुलिकोट गाउँपालिकामा १० हजार ६८२ मत खसेको थियो।
प्रतिक्रिया