+
Search

ताजा अपडेट +

पपुलर +

सुशासनको एजेन्डामा रास्वपासँग सहकार्य गर्न तयार छौँ : वर्षमान पुन

पालिका लाइभ
२०८२ फाल्गुन २४, आईतवार

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन अनन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्यका लागि आफ्नो दल तयार रहेको बताएका छन् ।

रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुभेच्छुकहरूलाई सम्बोधन गर्दै पुनले सुशासन, आर्थिक विकास र सामाजिक न्यायजस्ता क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

उनले प्रचण्ड नेतृत्वको १८ महिने सरकारमा आफूहरूले थालेको सुशासनको अभियानले निरन्तरता पाउनुपर्ने उल्लेख गरे ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जितेको छ । म उहाँहरूलाई बधाई र शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘हामीले प्रचण्ड नेतृत्वको सरकार हुँदा सुरु गरेको सुशासनको अभियानलाई पूर्णता दिनुपर्नेछ । आर्थिक वृद्धि, समृद्धि र सामाजिक न्यायको एजेन्डामा मिलेर काम गर्छौँ । मुलुकको हितसँग सम्बन्धित सबै विषयमा रास्वपासँग सहकार्य गर्न तयार छौँ ।’

उनले मुलुकको राष्ट्रिय स्वाधीनता खतरामा रहेको तर्क गर्दै मुलुकको अस्तित्व रक्षाका लागि भूराजनीतिक संवेदनशीलता ख्याल गरेर परिपक्व कूटनीति सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

‘विश्व राजनीति त्यति सजिलो छैन । देशको अस्तित्व रक्षा र सुदृढ गर्नका लागि असाध्यै राम्रो र परिपक्व ढंगले कूटनीतिक सम्बन्ध सञ्चालन गर्नुपर्नेछ’, उनले भने, ‘कतैतिर ढल्किएर हाम्रो देशको स्वाधीनता सम्भव छैन । त्यसैले हामीले अन्तर्राष्ट्रिय भूराजनीतिक द्वन्द्व र तानातानीलाई ख्याल गर्दै राष्ट्रियतालाई सुदृढ गर्नुपर्नेछ ।’

पुनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न नयाँ र पुराना राजनीतिक दलहरूले मिलेर काम गर्नुपर्ने औँल्याए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ