काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आह्वान गरेकी छिन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले अझै पनि धेरै महिला गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी र नेतृत्व तहमा सार्थक सहभागिताबाट वञ्चित भएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘उनीहरूलाई अझै विश्वास गरिहाल्ने र ? भन्ने मनोविज्ञान ज्युँ का त्युँ छ । हिजो चुलाचौकामा बेहोरेको विभेदको नयाँ स्वरूप आज कार्यस्थलमा छ ।’
अब हाम्रो लक्ष्य केवल सहभागिता बढाउने मात्र होइन, अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
‘अहिले शिक्षाको विस्तार भएको छ, चेतनाको स्तर उठेको छ । त्यसैले महिला अधिकारका लागि अझ दृढताका साथ अगाडि बढिरहेका छन् । हामीले यो पनि बुझ्नुपर्छ कि सबै महिलाको अवस्था समान छैन,’ सन्देशमा भनिएको छ ।
उनले समाजमा पछि परेको, विकासको मूलधारबाट वञ्चित समुदायका महिला अझै बढी प्रताडित भएको पनि उल्लेख गरिन् ।
उनले विशेषगरी दलित महिला, कर्णालीका महिला, मधेसका महिला तथा सीमान्तकृत समुदायका महिलाको आवाज राज्यको नीति निर्माणमा अझ स्पष्ट रूपमा प्रतिबिम्बित हुन आवश्यक रहेको बताएकी छिन् ।
प्रधानमन्त्री कार्कीले समानता, सशक्तीकरण र सामाजिक न्यायको आधारमा समतामूलक समाज निर्माण गर्नु आजको ऐतिहासिक दायित्व भएको र त्यो दायित्व राज्यको मात्र नभई राजनीतिक दलहरू, नागरिक समाज, निजी क्षेत्र, सञ्चार जगत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारको साझा जिम्मेवारी भएको उल्लेख छ ।
प्रतिक्रिया