+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने

पालिका लाइभ
२०८२ फाल्गुन १८, सोमबार

काठमाडौं– फागुन २१ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

मतदान कार्यका लागि खटाइएका कर्मचारी तथा सुरक्षाकर्मीहरू सोमबार अपराह्नसम्म देशभरका सबै मतदान केन्द्रमा पुगिसक्ने भएका छन् । निर्वाचन आयोगले समयमै केन्द्रमा पुगेर आवश्यक तयारी पूरा गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दुर्गम तथा विकट भेगका मतदान केन्द्रमा सुरक्षाकर्मी सहितका टोली केही दिनअघिदेखि नै पुगिसकेका छन् । विशेषगरी सडक सुविधा नपुगेका र सदरमुकामबाट टाढा रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर कर्मचारी परिचालन गरिएको उनले बताए ।

यातायातको सुविधा पुगेका स्थानमा भने सोमबार बेलुकासम्म सबै कर्मचारी मतदान केन्द्रमा पुगिसक्ने आयोगको अपेक्षा छ ।

मतदान केन्द्रमा पुगेपछि कर्मचारीहरूले चारकिल्ला निर्धारण गरी मतदान केन्द्रको हाता तोकिएको सूचना टाँस्नुपर्नेछ । साथै, सकेसम्म छिटो सर्वपक्षीय बैठक बोलाइने र निर्वाचन प्रचारप्रसार निषेध गरिएको सूचना सार्वजनिक गरिनेछ । मतदान अधिकृतले मतदान सुरु भएदेखि सम्पन्न हुँदासम्म आवश्यक समन्वय र प्रक्रिया पूरा गर्ने जिम्मेवारी वहन गर्नेछन् ।

देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतहरूले सुरक्षाकर्मीको उपस्थितिमा मतपत्र लगायतका निर्वाचन सामग्री बुझ्ने व्यवस्था गरिएको छ । ती सामग्रीको सुरक्षाको जिम्मा नेपाल प्रहरी लाई दिइएको छ । आयोग र प्रहरी मुख्यालयले मतपत्र तथा अन्य संवेदनशील सामग्रीको २४ सै घण्टा निगरानी गर्न निर्देशन दिएका छन् ।

मतदान सकिएपछि सबै दलका प्रतिनिधिको उपस्थितिमा मतपेटिकाको मुचुल्का तयार गरिनेछ र त्यसपछि मतपेटिका सुरक्षित रूपमा निर्वाचन अधिकृतको कार्यालयमा बुझाइनेछ । मतपेटिका बुझाएपछि मात्रै मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको जिम्मेवारी औपचारिक रूपमा पूरा हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ