+
Search

ताजा अपडेट +

पपुलर +

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

पालिका लाइभ
२०८२ माघ १८, आईतवार

चितवन- पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मलेखु सडकखण्डको काम सम्झौताअनुसार सम्पन्न हुन नसक्दा आयोजनाको म्याद छ महिनाले थप गरिएको छ। तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने आयोजनामा हालसम्म ३७ प्रतिशत मात्र प्रगति भएपछि म्याद थप गरिएको हो।

विसं २०७९ पुस १५ गते तीन वर्षभित्र सम्पन्न गर्ने गरी यो सडक ठेक्का सम्झौता गरिएको थियो। मुग्लिन–नागढुंगा सडकखण्डलाई तीन चरणमा विभाजन गरी बोलपत्र आह्वान गरिएकोमा तेस्रो चरणको म्याद गत पुस १५ गते सकिएपछि १८३ दिन (छ महिना) का लागि म्याद थप गरिएको हो।

आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैले डिजाइनका तथ्याङ्क गलत परेका कारण नक्साङ्कनमा समस्या देखिँदा समयमै काम गर्न नसकिएको बताए। यही कारण निर्माण कम्पनीलाई म्याद थप गरिएको उनको भनाइ छ।

निर्माण कम्पनीले भने सडक निर्माण क्षेत्र खाली हुन ढिलाइ भएको, रुख तथा विद्युत् खम्बा सार्न समय लाग्नु, निर्माण सामग्री सहज रूपमा उपलब्ध नहुनु, सवारीसाधनको उच्च चापलगायत कारणले काम तोकिएको अवधिमा सम्पन्न हुन नसकेको जनाउँदै आएको छ। इन्जिनियर दरैले नक्साङ्कनसम्बन्धी विषय समाधान गर्दै हाललाई म्याद थप गरिएको र अन्य विषय छलफलकै क्रममा रहेको जानकारी दिए।

हालसम्म उक्त खण्डमा ३७ दशमलव ५ प्रतिशत काम सम्पन्न भएको छ। नौ किलोमिटरभन्दा केही बढी सडक कालोपत्र भइसकेको छ भने धादिङको चरौदी क्षेत्रमा कालोपत्रको काम भइरहेको छ। फिस्लिङलगायत क्षेत्रमा कालोपत्रको तयारी भइरहेको छ।

सडकमा नाली, बेरियर, पुल निर्माणलगायत विभिन्न काम पनि सँगसँगै भइरहेका छन्। हाल दैनिक करिब १५० मजदुर परिचालन गरिएको र थपिएको समयमा काम सम्पन्न गर्न आयोजनाका तर्फबाट आवश्यक सहजीकरण गरिएको दरैले बताए।

मुग्लिन–मलेखु खण्डको कुल लम्बाइ ३८ दशमलव ८६ किलोमिटर रहेको छ। यसमध्ये मलेखु, बेनीघाट र मुग्लिन क्षेत्रमा दुई दशमलव दुई किलोमिटर छ लेनको सडक बन्नेछ।

रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौदी र विशालटार क्षेत्रमा पर्ने सात दशमलव दुई किलोमिटर सडक चार लेनको हुनेछ। उकालो–ओरालो खण्डमा दुई दशमलव तीन किलोमिटर ‘क्लाइम्बिङ लेन’ निर्माण गरिने र बाँकी सडक दुई लेनको हुने जानकारी दिइएको छ।

शर्मा–जेडआइसिजी कम्पनीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्डको स्तरोन्नतिको ठेक्का लिएको हो।

कालोपत्र, नाला निर्माण, पहिरो रोकथाम, भित्तो काट्ने, पर्खाल निर्माण तथा सडक सुरक्षासम्बन्धी काम अझै बाँकी छन्। विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको यो सडक काठमाडौँ प्रवेश तथा बाहिरिने मुख्य नाकाका रूपमा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ