+
Search

ताजा अपडेट +

पपुलर +

धनगढीका मेयर हमालले भने – सबैले पार्टी रोजे, मैले जनता

पालिका लाइभ
२०८२ माघ १८, आईतवार

काठमाडौं- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले भने जनता रोजेको बताएका छन् । मेयर हमालले सामाजिक सञ्जालमार्फत एउटा तस्वीर शेयर गर्दै ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ ।’ लेखेका छन् ।

२०७९ को बैशाखमा भएको स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर धनगढीको मेयर भएका हमाल अहिलेसम्म कुनै पनि पार्टीमा आवद्ध छैनन् ।

उनीसँगै स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंका मेयर बनेका बालेन शाह रास्वपा प्रवेश गर्दै प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् ।

स्वतन्त्र उम्मेदवार भएर धरान उपमहानगरपालिकाको मेयर जितेका हर्क साम्पाङले श्रम संस्कृति पार्टी गठन गर्दै सुनसरी-१ बाट उम्मेदवारी दिएका छन् । दुवै जनाले मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभाको चुनावमा होमिएका बेला हमाल भने उपमहानगरपालिकाकै काममा व्यस्त छन् ।

स्थानीय चुनावमा नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै हमाल मेयरमा निर्वाचित भएका थिए ।

हमालले २६ हजार ८६५ मत प्राप्त ल्याएर विजयी हुँदा वडले १४ हजार ८१७ मत पाएका थिए भने तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ