+
Search

ताजा अपडेट +

पपुलर +

अदालतको आदेश र निर्णयलाई हामीले सम्मान गरेका हौँ : सुनिता डंगोल

पालिका लाइभ
२०८२ माघ ९, शुक्रबार

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिकाले सदैव अदालतको आदेश र निर्णयलाई सम्मान गर्ने बताएका छन् ।

सर्वोच्च अदालतको यही माघ ४ गते नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माण सम्बन्धी मापदण्डका विषयमा गरेको आदेश र काठमाडौं महानगरपालिकाले गरेको निर्माण रोक्का फुकुवाप्रति आभार व्यक्त गर्न आएका उपत्यकाका १९ वटा नदी संघर्ष समितिका पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएका हुन् । ‘काठमाडौं महानगरपालिका सधैँ अदालतको आदेश र निर्णयलाई सम्मान गर्छ,’ उनले भने, ‘यो पटक पनि हामीले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गरेका हौँ ।’

उनले अदालतको सम्मान गर्दै महानगरले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवाको सार्वजनिक सूचना जारी गरेको उल्लेख गरे ।

‘सर्वोच्च अदालतको निर्णय आएपछि हामीले त्यसैलाई आधार मानेर निर्णयको सम्मान गरेका छौँ,’ उनले भने, ‘योसँगै तपाईँहरु धरैले राहत पाउनु भएको छ भन्ने लागेको छ । कानुनलाई मिच्ने अधिकार हामी कसलाई पनि छैन । हामी कानुन मिच्दैनौँ । हामी कानुनका दायरामा रहेर नै निर्णय गर्छौँ ।’

नदीको छेउमा रहेका उपत्यकावासीले विभिन्न समयमा अदालतमा गएर, सडकबाट, विभिन्न कार्यालयमा गएर मेहनतका साथ बुलन्द आवाज उठाएको सन्दर्भलाई पनि उनले धन्यवाद भने । ‘यहाँका बासिन्दालाई विस्थापित गराउने होइन तपाईँहरुको मागको सम्बोधन गर्दै अघि बढ्नुपर्छ भनेर यस अघि पनि निरन्तर प्रयास गर्दै आएको स्मरण गराउँछु,’ उनले भने, ‘अन्योल र अनिर्णयका समयमा तपाईँहरु जसरी एक–अर्कालाई ढाडस दिए एक ढिक्का भएर निरन्तर लडिरहनुभयो यसका लागि तपाईँहरुलाई धन्यवाद । जसले दुःख भोगेको हुन्छ पीडा पनि उसैलाई थाहा हुन्छ । तपाईँहरुले संवेदनशील समयमा देखाउनु भएको संयमतालाई पनि धन्यवाद ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ