काठमाडाैं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावी मैदान छोडेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रहपछि डा. भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन्।
उनले माघ ६ गते प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट गोरखा-२ मा उम्मेदवारी दर्ता गराएका थिए। भट्टराईले फेसबुक लाइभमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।
‘धेरै साथीहरुले तपाइँ साझा व्यक्तिका रुपमा रहनु उपयुक्त हुन्छ, चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा भोलि बन्ने सरकारलाई सल्लाह सुझाव दिन उपयुक्त हुन्छ भन्ने सुझावका आधारमा मैले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको छ,’ उनले भने, ‘सांसद मात्र रहनुभन्दा बाहिर रहेर नै दलहरुलाई सघाउने र भोलि देशलाई आवश्यक पर्दा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सुझाव उपयुक्त लाग्यो।’
भट्टराईलाई रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले उम्मेदवारी फिर्ता लिएर आफ्ना उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका थिए।
‘पूर्वप्रधानमन्त्रीका रूपमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउन सक्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारकाे राजनीतिक-प्रशासनिक एवं सुशासन र विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापनमा उहाँको अनुभवबाट सिक्दै हामीले धेरै गर्नुछ,’ वाग्लेले फेसबुकमार्फत भनेका छन्।
गोरखा-२ मा रास्वपाका तर्फबाट महामन्त्री कविन्द्र बुर्लाकोटी उम्मेदवार छन्। उनी यसअघिको निर्वाचनमा पराजित भएका थिए। तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली कांग्रेसको समर्थनमा २६ हजार १०९ मत ल्याएर निर्वाचित हुँदा कविन्द्रले १२ हजार ६३९ मत पाएका थिए।
प्रतिक्रिया