+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधि सभा निर्वाचन :

गोरखा-२ बाट एमालेले गर्‍यो चक्रे मिलनलाई उम्मेदवार सिफारिस

चक्रेको घर सिरानचोक गाउँपालिका–५ छोप्राक हो । उनी काठमाडौंमा भने चक्रपथ महाराजगन्जमा बसे । चक्रपथ क्षेत्रमा आफ्नो गतिविधि बिस्तार गरेर पछि चक्रे नामले नै अपराधको दुनियाँमा प्रख्यात भए । एक समय दरबारको निकट रहेको मानिने चक्रे २०४६ सालपछि भने एमाले बने । अनि महाराजगन्ज क्षेत्रमा केटाहरू जम्मा पारेर त्यसक्षेत्रका बालुवा खानीका ठेक्काहरूमा कमिसन लिन थाले ।

फाइल तस्बिर
पालिका लाइभ
२०८२ पुष १८, शुक्रबार

गोरखा– आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर–२ बाट नेकपा एमालेले मिलन गुरुङ उर्फ चक्रे मिलनलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिसँग जोडिँदै आएका गुरुङलाई एमालेले उम्मेदवार सिफारिस गरेको हो । गुरुङ भने आफ्नो उम्मेदवारी व्यक्तिगत चाहनाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण अघि बढेको दाबी गर्छन्।

गुरुङका अनुसार उनी २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन्। पार्टीसँग निरन्तर आबद्ध रहँदै समाजसेवा र राजनीतिमा सक्रिय रहेको उनको भनाइ छ। उनले गोरखाली जनताले आफूलाई संसद्मा पठाउनेमा ढुक्क रहेकोसमेत दाबी गर्छन् ।
‘लामो समयदेखि सामाजिक सेवामा सक्रिय छु। यही क्रममा कहिलेकाहीँ मलाई ‘गुन्डा’ भन्ने आरोप लगाएर दुःख दिने प्रयास गरिएको छ,’ उनी भन्छन्, ‘म समाजको सेवा गर्छु भन्न पनि नपाइने अवस्था बनाइएको छ।’

तर गुरुङको राजनीतिक यात्राभन्दा बढी उनको विगत चर्चा र विवादको विषय बनेको छ। प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनीविरुद्ध १२ पटकभन्दा बढी मुद्दा चलेको देखिन्छ। उनी पटक–पटक पक्राउ पर्दै हिरासत र जेलसमेत पुगेका छन्। पछिल्लो पटक गत साउनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित एक होटलबाट गुरुङसहितका व्यक्तिलाई पक्राउ गरेको थियो। सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि गरेको आरोपमा उनी धरौटीमा रिहा भएका थिए।

त्यसअघि उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा पनि दर्ता भएको थियो। चक्रे मिलनको विगत २०४६ सालपछि राजनीतिक रूपमा एमालेसँग नजिकिएको देखिन्छ। उनी एक समय (हाल दिवंगत) एमाले नेता प्रदीप नेपालको ‘किचन क्याबिनेट’ सदस्यको रूपमा समेत चिनिन्थे। काठमाडौंको महाराजगन्ज क्षेत्रलाई आधार बनाएर बालुवा खानी, ठेक्कापट्टा र कमिसन संकलनमा संलग्न रहेको आरोप उनीमाथि लाग्दै आएको छ।

सिरानचोक गाउँपालिका–५ छोप्राक स्थायी घर भएका गुरुङ भूतपूर्व गोर्खा सैनिकका छोरा हुन्। काठमाडौंको चक्रपथ–महाराजगन्ज क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेपछि उनी ‘चक्रे’ नामले अपराधको दुनियाँमा चर्चित भए। ७ साउन २०४७ मा उनी पहिलो पटक पक्राउ परेका थिए। त्यतिबेला उजुरी नपरेपछि प्रहरी प्रतिवेदनकै आधारमा सार्वजनिक अपराध (अहिलेको अभद्र व्यवहार) को मुद्दा चलेको थियो र उनी छिट्टै छुटेका थिए। त्यसपछि पक्राउ र रिहाइको क्रम निरन्तर चलिरह्यो।

२०७१ सालमा दिनेश अधिकारी ‘चरी’ र २०७३ सालमा कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी मुठभेडमा मारिएपछि काठमाडौंमा गुण्डागर्दीविरुद्ध कारबाही सुरु भएको थियो। त्यसपछि धेरै गुन्डा उपत्यका वा देश छाड्न बाध्य भए। चक्रे मिलन पनि त्यसपछि खुला गतिविधि घटाएर राजनीतितर्फ बढी सक्रिय भएको देखिन्छ। पाखुरामा सूर्यको ट्याटु हानेर एमालेप्रति आफ्नो नजिकता देखाउँदै आएका उनी यसअघि प्रदेश तहको निर्वाचनमा पनि सिफारिस भएका थिए, तर टिकट पाएका थिएनन्।

यसपटक प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएपछि उनी पुनः चर्चामा आएका छन्। एमालेका युवा नेता तथा युवा संघका केन्द्रीय सदस्य प्रवीण अधिकारीले भने गुरुङलाई साझा उम्मेदवारका रूपमा हेरिएको दाबी गर्छन्। ‘जो निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्छ, त्यस्ता व्यक्तित्वलाई गोरखाले स्वागत गर्नुपर्छ,’ अधिकारी भन्छन्, ‘आज गोरखाका धेरै युवा र जेनजी पुस्ताले मिलन गुरुङलाई साझा उम्मेदवारका रूपमा हेरिरहेका छन्।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ