+
Search

ताजा अपडेट +

पपुलर +

आर्थिक वृद्धि:

गण्डकी प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च, कृषि उत्पादन घट्यो, पयर्टनमा सुधार

पालिका लाइभ
२०८२ कार्तिक २७, बिहीबार १७:४० गते

काठमाडौं– आर्थिक वर्ष २०८१-८२ मा गण्डकी प्रदेशको आर्थिक वृद्धि ५.५१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । आर्थिक वृद्धिदरको आधारमा यस प्रदेश प्रथम स्थानमा रहने देखिए पनि देशको कुल गार्हस्थ्य उत्पादनमा योगदानको आधारमा पाँचौँ स्थानमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१-८२ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित उपभोक्ता मूल्यमा) ५ खर्ब ४८ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसैगरी, चालु आर्थिक वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर उपभोक्ता मूल्यमा ५.५१ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आर्थिक वर्ष यस्तो वृद्धिदर ४.०९ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा गण्डकी प्रदेशको योगदान ८.९८ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

त्यसैगरी, आर्थिक वर्ष २०८१-८२ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर (उपभोक्ताको मूल्यमा) सबैभन्दा बढी (५.५१ प्रतिशत) र सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम (३.३२ प्रतिशत) हुने प्रारम्भिक अनुमान  रहेको छ । गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २७.८ प्रतिशत, १६.५ प्रतिशत र ५५.८ प्रतिशत रहने अनुमान छ ।

प्रदेशहरूको समग्र आर्थिक अवस्था तुलना गर्दा आर्थिक वर्ष २०८१-८२ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै (३६.५२ प्रतिशत) रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम (४.१९ प्रतिशत) रहेको छ ।

कृषि उत्पादनमा कमी, २४ अर्ब कर्जा लगानी

समीक्षा वर्षमा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब १.११ प्रतिशतले ह्रास आई ४ लाख ३१ हजार ३८५ हेक्टर कायम भएको छ । तरकारी, फलफूल, मसला, चिया र कफी खेतीले ढाकेको क्षेत्रफल क्रमशः ०.३१ प्रतिशत, ६.३५ प्रतिशत, २.१३ प्रतिशत, १.०४ प्रतिशत र ४.६१ प्रतिशतले वृद्धि भएको छ भने खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा १.५५ प्रतिशतले कमी आएको । छ ।

समीक्षा वर्षमा प्रमुख कृषि बालीको उत्पादनमा ४.८६ प्रतिशतले कमी आएको छ । खाद्य, नगदे तथा अन्य बाली र फलफूलको उत्पादनमा क्रमशः ९.०५ प्रतिशत र ०.४८ प्रतिशतले कमी आएको छ भने तरकारी, मसला, कफी र मह उत्पादनमा क्रमशः १०.९८ प्रतिशत, ५.२६ प्रतिशत, ४७.९५ प्रतिशत, ६९.६९ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा पशुजन्य उत्पादनतर्फm दूधको उत्पादन १.२५ प्रतिशत र माछाको उत्पादन ०.७४ प्रतिशतले ह्रास आएको छ भने मासु र अण्डाको उत्पादनमा क्रमशः १.३६ प्रतिशतले र ४.८५ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठको उत्पादनमा ३१.३५ प्रतिशतले र दाउरा उत्पादनमा १३.६८ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा वर्षमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले कृषि, वन र माछापालन क्षेत्रमा २४ अर्ब ६ करोड कर्जा लगानी गरेका छन् । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको ६.७४ प्रतिशत रहेको छ ।

उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९.१९ प्रतिशत

समीक्षा वर्षमा अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९.१९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ३९.२० प्रतिशत रहेको थियो । समीक्षा वर्षमा चाउचाउ, क्याप्सुल औषधी, बियर, चुरोट, प्रशोधित दूध, ड्राई सिरप औषधी र तोरीको तेलको उत्पादनमा वृद्धि भएको छ भने इँटा, ओइन्टमेन्ट औषधी, ट्याब्लेट औषधी, चकलेट, लिक्विड औषधी, बिस्कुट र सिमेन्टको उत्पादनमा कमी आएको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ७.८२ प्रतिशत अर्थात्.२७ अर्ब ९१ करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन्।

पर्यटक आगमन २६ प्रतिशतले वृद्धि, पर्यटन क्षेत्रमा झन्डै २४ अर्ब कर्जा प्रवाह

प्रदेशमा विदेशी पर्यटक आगमनको संख्या २६ प्रतिशतले वृद्धि भई ६९ हजार ४ सय ९१ रहेको छ । त्यस्तै, होटलको शय्या संख्या विक्री ३.८ प्रतिशतले वृद्धि भई ७५ हजार ४ सय १९ रहेको छ भने अकुपेन्सी ३१.८४ प्रतिशत रहेको छ जुन गत वर्ष ३१ प्रतिशत रहेको थियो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटनमा सुधार आएकोले सेवा क्षेत्रमा तदनुरूपको सकारात्मक प्रभाव देखिएको हो ।

समीक्षा वर्षमा २५ हवाई कम्पनीमार्फत १४ हजार १ सय ५८ पटक उडान भएको छ । हवाई कम्पनीको सिट उपयोग क्षमता ७९.१३ प्रतिशत रहेको छ । गत वर्ष हवाई कम्पनीको सिट उपयोग क्षमता ७७.८५ प्रतिशत रहेको थियो ।

उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति उच्च रहनु, बसाइसराइ, प्राविधिक तथा व्यावसायिक तालिमको व्यवस्था पर्याप्त मात्रामा हुन नसक्दा विश्वविद्यालयमा विद्यार्थीको संख्या ५.३१ प्रतिशत ह्रास देखिएको भएतापनि शिक्षकको संख्यामा भने १.३३ प्रतिशतले वृद्धि देखिएको छ । साथै, विद्यार्थी संख्यामा आएको कमीले गर्दा क्याम्पसहरू गाभिएका छन्, जसले गर्दा क्याम्पसको संख्यामा ३.१३ प्रतिशतले कमी आएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १४.६ प्रतिशतले वृद्धि भई ६ खर्ब १२ अर्ब २९ करोड पुगेको छ । कुल कर्जा प्रवाह २.३ प्रतिशतले वृद्धि भई ३ खर्ब ५६ अर्ब ९२ करोड पुगेको छ । पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा ०.५६ प्रतिशतले वृद्धि भई २३ अर्ब ८९ करोड पुगेको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरू मध्ये कालीगण्डकी करिडोर अन्तर्गतको मालढुङ्गा–राम्दी–गैडाकोट खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत र बेनी–जोमसोम खण्डको भौतिक प्रगति करिब ८७ प्रतिशत रहेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखा–लमजुङ खण्डको भौतिक प्रगति ७७ प्रतिशत र कास्की–पर्वत– बागलुङ खण्डको भौतिक प्रगति ८२ प्रतिशत रहेको छ । तनहुँ जलविद्युत आयोजना तथा बुढिगण्डकी जलविद्युत आयोजनाको भौतिक प्रगति क्रमशः ६७ प्रतिशत र १६.५५ प्रतिशत रहेको छ ।

यस प्रदेशका ५९ स्थानीय तहले आर्थिक वर्ष २०८१-८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका छन्। उक्त कार्यक्रम सञ्चालित ७ सय ८९ आयोजना मार्फत्कुल ४ सय ४५ व्यक्तिले औसतमा ४८ दिन रोजगारी पाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics