+
Search

ताजा अपडेट +

पपुलर +

प्रसाईंकाे पत्रकार सम्मेलन:

तीनकुनेमा मलाई इन्काउन्टर गर्ने योजना रहेछ, थाहा पाएर भागेँ : दुर्गा प्रसाईं

राजनीतिक दल खोल्ने प्रसाईको घोषणा

पालिका लाइभ
२०८२ भाद्र २, सोमबार

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई हप्ता अघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।

उनले करिब १० वर्षपछि आफूले पहिलोपटक सोही दिन गाडी चलाएको र आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीकै अगाडि पुगेको बताएका छन् ।

‘म गाडी लिएर प्रहरीकोमा गएँ । मार्ने योजना भए पनि एक दुई जनालाई भनेको हुन्छ भन्ने लागेर मैले पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर छिरेँ,’ प्रसाईंले भनेका छन्, ‘त्यसपछि मलाई एकजना डीएसपी सा’बले आएर, तपाईंले जे गर्नुभयो ठिक गर्नुभयो, अब तपाईं गएर कार्यक्रम सकेर निस्कनुस् भन्नुभयो ।’

त्यसपछि आफू मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकलाई संयमित हुन आग्रह गरेको प्रसाईंले सुनाए ।

‘मैले मञ्चमा गएर प्रहरीसँग धक्कामुक्का नगर्नुस्, प्रहरीले पनि अश्रुग्यास नहान्नुस् भनेँ,’ प्रसाईंले भनेका छन् ।

त्यतिबेलै एक जना सिभिलका प्रहरीले आफूलाई मार्ने योजना रहेको रहेको जानकारी गराएको र लगत्तै उपत्यका छाडेको प्रसाईंले बताएका छन् । साथै, उनले उपत्यकामा कर्फ्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको पनि बताएका छन् ।

‘मलाई त्यतिबेलै प्रहरीका एक जना सिभिलका मान्छे आएर तपाईंलाई मार्ने योजना छ भनेपछि म त्यहाँबाट निस्किएँ । म कर्फ्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको थिएँ,’ प्रसाईंले सो दिनको घटनाबारे भने, ‘मलाई इन्काउन्टर गर्ने आदेश रहेछ । किनभने, यो देशमा मदन भण्डारी बाँचेको थियो भने अरुको चान्स आउँदैन थियो । त्यही भएर मदन भण्डारीलाई मारियो ।’

राजनीतिक दल खोल्ने प्रसाईको घोषणा

उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन् । ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको देश सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाईंले भने ।

उनले केही समयमै दलको नाम घोषणा गर्ने जानकारी गराएका छन् । ‘म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु,’ प्रसाईंले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ