काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति पुन: सक्रिय राजनीतिमा फर्किएकोप्रति गम्भीर प्रश्न उठाएका छन् ।
एमाले-माओवादीमा पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको राजनीतिक सक्रियतालाई लिएर भइरहेको बहस र विवादले शिशु अवस्थामै रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको स्वास्थ्य, मर्यादा र दीगो स्थायित्वमा गम्भीर प्रश्न उठ्ने उनको भनाइ छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन सक्रिय राजनीतिमा फर्किनु उनीहरुको निजी र दलगत सरोकारको विषयमात्रै नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै भट्टराईले भण्डारी र पुनको राजनीतिक सक्रियता राष्ट्रिय हित, गणतन्त्रको मर्म र शासकीय प्रणालीको चरित्रसँग गहिरो रूपमा जोडिने उल्लेख गरेका छन् ।
संविधान र कानुनले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई पुन: राजनीतिमा सक्रिय हुन बन्देज नगरेपनि यो विषय नैतिक मूल्य, सार्वजनिक हित र अन्तर्राष्ट्रिय अभ्याससँग जोडिने भट्टराईको तर्क छ ।
भारत लगायतका गणतान्त्रिक मुलुकहरूमा पूर्वराष्ट्रपतिहरू कार्यकाल सकिएपछि पुन: राजनीतिमा नफर्किएको दृष्टान्त दिँदै उनले लेखेका छन्, ‘राजेन्द्र प्रसाददेखि प्रणव मुखर्जी सम्मले दलमा फर्कने प्रयास गरेनन् ।’
नेपालको संविधानले राष्ट्रपतिलाई सेरेमोनियल भूमिकामा राखेको भएपनि त्यस पदको गरिमा कायम राख्न पूर्वराष्ट्राध्यक्षहरू दलगत मोहबाट मुक्त हुनुपर्नेमा उनको जोड छ ।
पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति पुन दुवै कम्युनिस्ट पृष्ठभूमिका नेताहरू भए पनि अहिलेको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीले पुरानो ‘पार्टी स्टेट’ संरचना अस्वीकार गरिसकेको उल्लेख गर्दै उनले लेखका छन्, ‘यदि उनीहरू अझै पनि एकदलीय सोचबाट निर्देशित छन् भने त्यो अनुचित हो ।’
पूर्वराष्ट्रपति भण्डारीले ‘जबजको रक्षार्थ एमाले फर्किएको’ भनी दिएको अभिव्यक्तिप्रति समेत असन्तुष्टि जनाउँदै भट्टराईले भनेका छन्, ‘त्यो भनाइ स्वयं जबजको मर्मविपरीत छ, यसले कम्युनिस्ट आन्दोलनमै अन्योल बढाउँछ ।’
अहिले नेपालमा पुराना खालका दलगत नेताभन्दा पनि दूरदृष्टि भएका राजनेता हरूको खाँचो औंल्याउँदै उनले अन्त्यमा लेखेका छन्, ‘ हाम्रा पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति लगायतका हिजो संघीय लोकतान्त्रिक गणतन्त्रनिम्ति अतुलनीय योगदान गरेका नेतागणबाट जनताले यो अपेक्षा गर्नुलाई कसरी अन्यथा भन्न मिल्ला र? विज्ञेषु किमधिकम्, इत्यलम् (बुद्धिमानहरुका लागि यत्ति नै काफी छ, थप केही भन्नु आवश्यक छैन) !’
प्रतिक्रिया