+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डले प्रधानमन्त्रीसामु भने- निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो

पालिका लाइभ
२०८२ चैत्र ४, बुधबार

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण बनाउन सहयोग गरेकामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई धन्यवाद दिएकी छन्।

उनले बुधवार बिहान पनि नेकपाका नेताहरूलाई बालुवाटार बोलाएर निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी हुन्।

प्रधानमन्त्रीको निमन्त्रणामा नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन बालुवाटार पुगेका थिए।

‘तपाइँहरुले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो। यसका निम्ति धेरै धन्यवाद छ,’ प्रधानमन्त्री कार्कीलाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ।

जेनजी आन्दोलनपछि खासगरी नेकपा एमाले संस्थागत निर्णय गरेरै तथा कांग्रेसका कतिपय नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेकामा प्रचण्ड चुनावको पक्षमा उभिएका थिए।

प्रचण्डले शान्तिपूर्णता निर्वाचन गराएर मुलुकलाई निकास दिएको भन्दै प्रधानमन्त्री कार्कीको प्रशंसा गरे। ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठुलो दुर्घटनामा जान्थ्यो। यसमा जुन साहस र मेहनतका साथ तपाइँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ,’ प्रचण्डले भने।

उनले अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्र चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको दृढताका कारण सम्पन्न भएको बताए।

सहसंयोजक नेपालले जेनजी आन्दोलनपछि सबै आत्तिएको अवस्थामा कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान जोगिन्छ भनेर ढुक्क भएको बताए। ‘जेनजी आन्दोलनपछि हामी सबै आत्तिएका थियौँ। तपाइँ आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो,’ पूर्वप्रधानमन्त्री नेपालले भने।

निर्वाचनमा नेकपा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी जम्मा १७ सिटमा खुम्चिएको छ। प्रधानमन्त्री कार्कीलाई भेट्न पुगेका नेतामध्ये नेपाल र श्रेष्ठ पराजित भएका थिए भने प्रचण्ड र पुन निर्वाचित भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ