+
Search

ताजा अपडेट +

पपुलर +

‘निर्वाचनमा सामाजिक सञ्जालको प्रभाव देखियो, लोकतान्त्रिक प्रक्रियामाथिको विश्वास कमजोर पार्ने खतरा छ’

पालिका लाइभ
२०८२ फाल्गुन ३०, शनिबार

काठमाडौं- पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले एआई र डिजिटल प्रविधिको तीव्र विकासले लोकतन्त्र, अर्थतन्त्र र युवाको भविष्यमा गहिरो प्रभाव पारिरहेको बताएका छन्।

नयाँ दिल्लीमा एआईको युगमा लोकतन्त्र : डिजिटल शासन र युवाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हालका निर्वाचनहरूमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेक प्रविधिको प्रयोगले सार्वजनिक बहस र लोकतान्त्रिक प्रक्रियामा चुनौती सिर्जना गरेको बताए।

आफू पेशाले वास्तुविद् भएकाले प्रविधिले स्वास्थ्य सेवा, शिक्षा, आर्थिक अवसर, भौतिक सुविधा तथा ज्ञानको पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान दिएको बताए।

उनले भने, ‘मानव इतिहासमै सबैभन्दा धेरै प्रविधिसँग जोडिएको पुस्ता भए पनि आजका युवाहरूमा तनाव, चिन्ता र एक्लोपन बढिरहेको छ। अहिलेको जेनजी पुस्ता अघिल्ला पुस्ताभन्दा बढी मानसिक दबाब र अनिश्चितताको अवस्थाबाट गुज्रिरहेका छन्। एआई, रोबोटिक्स र स्वचालनको तीव्र विकासले श्रम बजार, अर्थतन्त्र र शासन प्रणालीलाई पुनःपरिभाषित गरिरहेको छ।’

प्रविधि मुख्यतः लागत घटाउने र काम स्वचालित बनाउने उद्देश्यले मात्र विकास गरियो भने त्यसले मानव श्रमको मूल्य घटाउने र आर्थिक असमानता बढाउने जोखिम रहेको उनको भनाइ थियो।

उनले जेनेरेटिभ एआईको विकाससँगै गलत सूचना र डीपफेकको जोखिम पनि बढ्दै गएको बताए। अत्यन्त यथार्थपरक भिडियो, पाठ र तस्बिरहरू बनाउन सक्ने प्रविधिले सत्य र असत्यबीचको सीमा अस्पष्ट बनाइरहेको उनले बताए।

सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रयोग हुने एल्गोरिदमहरूले प्रयोगकर्ताको संलग्नता बढाउनका लागि प्रायः ध्रुवीकरण र उत्तेजक सामग्रीलाई प्राथमिकता दिने प्रवृत्ति रहेको बताए। नेपालका हालका निर्वाचनहरूमा पनि चुनावी अभियानहरू सडकबाट डिजिटल माध्यमतर्फ सरेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा डीपफेक, गलत सूचना र हेरफेर गरिएका सामग्रीहरू व्यापक रूपमा फैलिएको बताए।

उनले थपे, ‘यस्ता सामग्रीले मतदातालाई भ्रमित पार्ने, सार्वजनिक बहसलाई विकृत बनाउने र लोकतान्त्रिक प्रक्रियामाथिको विश्वास कमजोर पार्ने खतरा छ। डीपफेक व्यापक भएपछि वास्तविक प्रमाणलाई समेत यो नक्कली हो भनेर अस्वीकार गर्ने अवस्था सिर्जना हुनुपर्छ।’

लोकतन्त्र साझा तथ्य र विश्वासमा आधारित हुने भएकाले तथ्यहरू नै अस्वीकार गर्न सकिने अवस्थामा लोकतन्त्र कमजोर बन्ने उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ