+
Search

ताजा अपडेट +

पपुलर +

७ महिनामा वाणिज्य बैंकको नाफा ३८ अर्ब, कुमारी बैंकको लोभलाग्दो वृद्धि

पालिका लाइभ
२०८२ फाल्गुन २९, शुक्रबार

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सात महिनामा वाणिज्य बैंकहरूको नाफा सामान्य रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माघ मसान्तसम्म देशका २० वटा वाणिज्य बैंकले कुल ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा वाणिज्य बैंकहरूको कुल खुद नाफा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ थियो। यस आधारमा चालु आवको सोही अवधिमा बैंकहरूको नाफा करिब ५.४० प्रतिशतले वृद्धि भएको देखिएको छ। तथ्यांकअनुसार यस अवधिमा १० वटा बैंकको नाफा बढेको छ भने १० वटा बैंकको नाफा घटेको छ।

नाफाको आकारका आधारमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। नबिलले माघ मसान्तसम्म ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ४ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ।

यस अवधिमा उल्लेखनीय प्रगति गर्ने बैंकमध्ये कुमारी बैंक तेस्रो स्थानमा उक्लिएको छ। कुमारीले ३ अर्ब १७ करोड रुपैयाँ नाफा कमाउँदै नाफा वृद्धिमा सबैभन्दा ठुलो छलाङ मारेको छ। गत वर्षको सोही अवधिमा ७३ करोड ८६ लाख रुपैयाँ मात्र नाफा कमाएको कुमारी बैंकको नाफा यस वर्ष ३२९.८६ प्रतिशतले बढेको देखिन्छ।

नाफा वृद्धिको आधारमा हेर्दा सिद्धार्थ बैंकको नाफा ९९.५७ प्रतिशतले बढेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ५२.४६ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी माछापुच्छ्रे बैंकको नाफा २८.६३ प्रतिशत, सानिमा बैंकको २६.२८ प्रतिशत, नेपाल एसबीआई बैंकको १०.६१ प्रतिशत, प्राइम कमर्सियल बैंकको ९.८१ प्रतिशत, कृषि विकास बैंकको ७.५० प्रतिशत र ग्लोबलको ६.६२ प्रतिशतले नाफा बढेको छ।

एभरेष्ट बैंकले २ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब १९ करोड रुपैयाँ, एनएमबी बैंकले २ अर्ब १३ करोड रुपैयाँ, नेपाल बैंकले १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी र सानिमा बैंकले १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

केही बैंकको नाफा उल्लेखनीय रूपमा घटेको छ। उदाहरणका लागि लक्ष्मी सनराइज बैंकको नाफा ८४.७३ प्रतिशतले घटेको छ। त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३६.१८ प्रतिशतले घटेको देखिएको छ भने सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ३६.०९ प्रतिशतले घटेको छ।

यसैगरी प्रभु बैंकको नाफा २५.६६ प्रतिशत, नेपाल बैंक को २४.४० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको १५.१५ प्रतिशत, एनएमबी बैंकको ९.१२ प्रतिशत, हिमालयन बैंकको ५.१७ प्रतिशत र एनआईसी एशिया बैंकको नाफा ४.६६ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ