काठमाडाैं– श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ।
मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो।
श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले हराइरहेको सो गाडी खोजी गरी दिनका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय, राम शाह पथ काठमाडौँलाई समेत पत्राचार गरिसकेको छ।
श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले असार १५ गते पत्राचार गरेको हो।
पत्रमा उल्लेख छ, ‘यस मन्त्रालयको स्वामित्वमा रहेको तपसिलको विवरण अनुसारको चारपाङ्ग्रे सवारीसाधन विगत केही समय अघिदेखि हराइरहेको हुँदा उक्त सवारीसाधन जहाँ जस्तो जुन अवस्थामा छ, खोजतलास गरिदिनुहुन साथै प्रचलित कानुनबमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी अनुसन्धान कारबाही अगाडि बढाइदिनुहुन असार १५ गतेको (नेपाल सरकार सचिवस्तर) निर्णय अनुसार अनुरोध गरिन्छ।’
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको गाडी खोजिदिन प्रहरीमा पठाइएको बताए। उनले सो सम्बन्धमा अहिलेसम्म प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको जानकारी दिए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले भने हराएको भनिएको गाडी मन्त्रालयका सचिवको घरमै रहेको र गाडी प्राप्त भइसकेको दाबी गरेका छन्।
उनले यो कुरामा कुनै दम नरहेको र केही व्यक्तिद्वारा ‘स्टन्टबाजी’ गरिएको आरोप लगाए।
प्रतिक्रिया