+
Search

ताजा अपडेट +

पपुलर +

नीति तथा कार्यक्रम

स्थानीय उत्पादनलाई जोड दिँदै आरुघाटले ल्यायो झन्डै ६१ करोडको बजेट

पालिका लाइभ
२०८२ असार १२, बिहीबार

गोरखा– आरुघाट गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६० करोड ८२ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै स्थानीय उत्पादन, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रम अघि सारेको छ।

१७ औँ गाउँसभा अधिवेशनको अवसरमा गाउँपालिका अध्यक्ष राजु गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उपाध्यक्ष कल्पना नेपालीले बजेट विनियोजन प्रस्ताव पेस गरेकी थिइन्।

गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा स्थानीय स्रोत र सम्पदाको पहिचान, उपयोग र दिगो व्यवस्थापनमा आधारित समावेशी विकासलाई केन्द्रमा राख्दै बहु-क्षेत्रीय समन्वयलाई प्राथमिकता दिएको देखिन्छ।

प्रस्तुत नीतिले गाउँभित्रै उत्पादन, स्वरोजगार र सामाजिक सुरक्षा सुनिश्चित गर्ने योजनालाई समेटेको छ।

स्थानीय उत्पादन र बजार विस्तारको संयोजन गर्दै कृषि, पशुपालन, पर्यटन र लघुउद्योगका कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरिएको छ। साथै, शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, प्रशासनिक सुधार, विपद् व्यवस्थापन र सामाजिक सुरक्षालाई नीति तथा कार्यक्रमको मूलभूत आधार बनाइएको छ।

आरुघाटले सार्वजनिक गरेको बजेट विवरण अनुसार, संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान २६ करोड रुपैयाँ रहेको छ भने वित्तीय समानीकरण अनुदान १२ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, समपूरक अनुदानतर्फ ३ करोड ५६ लाख, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १ करोड ७२ लाख र समपूरक अनुदान ५६ लाख रहेको छ।

प्रदेश सरकारबाट विशेष अनुदान अन्तर्गत ६० लाख रुपैयाँ विनियोजन गरिएको छ भने स्थानीय आन्तरिक आम्दानीबाट ८० लाख रुपैयाँ उठाउने अपेक्षा गरिएको छ। यसैगरी, राजस्व बाँडफाँडबाट ९ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

बजेटको ठूलो हिस्सा संघीय र प्रदेश सरकारको अनुदानमै आधारित देखिए पनि स्थानीय स्रोत परिचालन र उत्पादन क्षमताको विस्तारलाई ध्यानमा राख्दै गाउँपालिकाले आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्ने लक्ष्य लिएको छ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषि, सहकारी, भूमि व्यवस्था र पशुपालन क्षेत्रलाई सबल बनाउँदै ग्रामीण स्वरोजगार सृजना गर्ने योजना समावेश गरिएको छ। यसका लागि आधुनिक कृषि पद्धति, वायोफर्टिलाइजर उत्पादन, स्थानीय बीउबिजनको संरक्षण, तालिम र उपकरण वितरण, तथा उत्पादनको बजारीकरणजस्ता कार्यक्रमहरू अघि सारिएका छन्।

पर्यटन र संस्कृति प्रवर्द्धन आरुघाटको अर्को प्राथमिक क्षेत्र बनेको छ। ऐतिहासिक र धार्मिकस्थलहरूको संरक्षण, पदमार्ग सुधार, होमस्टे प्रवर्द्धन, तथा सांस्कृतिक पर्वहरूको प्रवर्द्धनमार्फत गाउँमा पर्यटन भित्र्याउने र स्थानीय आम्दानी बढाउने उद्देश्य लिइएको छ।

शिक्षा क्षेत्रमा गुणस्तरीय शैक्षिक पूर्वाधार विकास, डिजिटल शिक्षाको प्रवर्द्धन, छात्रवृत्ति वितरण, शिक्षक तालिम तथा विद्यालय स्तरोन्नतिको योजना समावेश गरिएको छ। स्वास्थ्य क्षेत्रमा पहुँच विस्तार, सुत्केरी भत्ता, औषधि वितरण, पोषण कार्यक्रम र स्वास्थ्य संस्थाको पूर्वाधार सुधारमा ध्यान दिइनेछ।

गाउँपालिकाले लैंगिक समानता, सामाजिक न्याय र समावेशितालाई नीतिको अभिन्न अङ्ग बनाउँदै महिलाहरू, बालबालिका, अपांगता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकका लागि लक्षित कार्यक्रम अघि सारेको छ।

महिला सशक्तीकरणका लागि सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम, अपांगता भएका व्यक्तिहरूको सेवा पहुँच विस्तार, बालमैत्री पालिका घोषणा, र ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

सडक, झोलुंगे पुल, खानेपानी तथा सरसफाइ, विद्युत्, सञ्चार, भवन निर्माण जस्ता पूर्वाधार विकास योजनाहरूले गाउँको भौतिक पहुँच र जीवनस्तरमा सुधार ल्याउने उद्देश्य राखेको छ।

गाउँपालिकाले विपद् व्यवस्थापन र वातावरणीय संवेदनशीलतालाई पनि उच्च प्राथमिकतामा राखेको छ। जलवायु परिवर्तनसँग जुझ्न वृक्षारोपण, संरक्षण कार्यक्रम, जनचेतना अभिवृद्धि तथा विपद् न्यूनीकरण योजना कार्यान्वयन गरिनेछ।

संगठन तथा प्रशासनिक सुधारतर्फ सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउन डिजिटल प्रणालीको प्रयोग, अनुगमन संयन्त्रको विकास, सुशासन प्रवर्द्धन र सार्वजनिक सूचना प्रवाहमा ध्यान दिइनेछ।

जनसहभागिता, जबाफदेहिता र प्रभावकारिता सुनिश्चित गर्न योजना छनोटदेखि कार्यान्वयन र मूल्याङ्कनसम्म जनप्रतिनिधि र समुदायको सहभागिता अनिवार्य गरिने नीति अवलम्बन गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ