+
Search

ताजा अपडेट +

पपुलर +

सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ : प्रचण्ड

पालिका लाइभ
२०८२ जेष्ठ २, शुक्रबार

डडेल्धुरा– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको धारणा राखेका छन् ।

उनले आफ्नो पार्टीले भने सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको दाबी गरे।

आफ्नो नेतृत्वमा सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको प्रचण्डको भनाइ थियो ।

उनले भने, ‘विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ । हामीले त्यसमा सन्तुलन कायम गर्न खोजेका छौँ । डडेल्धुरा र यहाँका पहाडी जिल्लाबाट भइरहेको बसाइसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक छ । यसका लागि पहल गर्छौं ।’

प्रचण्डले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर आफ्नो पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सम्पन्न गरी पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिएको उनले जानकारी दिए।

प्रचण्डले पहिलो चरणको जागरण अभियान झापाको कचनकवलबाट सुरु गरी महाकालीमा सम्पन्न भएको र दोस्रो चरणको अभियान बैतडीबाट सुरु भएर सोलुखुम्बुमा समापन गरिने जानकारी दिए ।

प्रचण्डले वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाउँदै सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको जिकिर गरे।

उनले भने, ‘सरकार ठीक बाटोमा हिँडिरहेको छैन, यसबाट चिन्तित छौँ । सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छ, यो राम्रो होइन ।’

प्रचण्डले कांग्रेस-माओवादीबीचको सत्ता समीकरण हल्ला मात्रै भएको स्पष्ट गर्दै वामपन्थी गठबन्धन पनि ८४ सम्म नहुने जिकिर गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ