+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरमा रोकिएको तलब वितरण प्रक्रिया सुरु, ४० करोड खर्च हुने अनुमान

फाइल तस्बिर
पालिका लाइभ
२०८१ चैत्र २५, सोमबार

काठमाडौं– काठमाडौं महानगरपालिकाले कर्मचारी र जनप्रतिनिधिका रोकिएका तलबहरू वितरण गर्न प्रक्रिया सुरु गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको पदभार सम्हालेसँगै तलब वितरण प्रक्रिया पुनः चालु भएको हो।

महानगरका ४ हजारभन्दा बढी कर्मचारी र जनप्रतिनिधिका तलब रोकिएका थिए, जसमा ५ महिनासम्मको तलब शिक्षकहरू र ३ महिनासम्मको तलब कर्मचारीहरूले पाउन बाँकी छ। प्रशासकीय अधिकृत गुरागाईंको नेतृत्वमा तलब निकासा प्रक्रिया प्राथमिकतामा राखिएको हो।

महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले रोकिएको तलब वितरण आजबाट सुरु भएको जानकारी दिएका छन्। “आजैमात्र आधाभन्दा बढी कर्मचारीको तलब निकासा भएको छ। यो हप्ताभरिमा सबैको तलब वितरण प्रक्रिया पूरा हुनेछ,” काफ्लेले भने।

महानगरका स्थायी, करार र ज्यालादारी कर्मचारीहरू मिलाएर ४ हजारभन्दा बढी जनशक्ति रहेको जानकारी महानगरले दिएको छ। यी कर्मचारीहरू मध्ये १७ सयभन्दा बढी शिक्षक रहेका छन्। सबै कर्मचारीलाई चैतसम्मको तलब एकमुष्ट वितरण गरिनेछ।

महानगरपालिकाले प्रत्येक महिना १२ करोड रुपैयाँ भन्दा बढी तलब वितरण गर्छ भने यसपटक चैतसम्मको तलब एकमुष्ट वितरण गर्न ४० करोड रुपैयाँ हाराहारी खर्च हुनेछ। यस कार्यको लागि एनआइसी बैंक र नेपाल बैंकमा सबै कर्मचारीका खाता खोली तलब वितरण गरिन्छ।

स्रोतका अनुसार, महानगरका प्रमुख बालेन्द्र साहको तलब निकासा भइसकेको छ। अन्य कर्मचारी र जनप्रतिनिधिहरूसँगै उनले पनि माघ महिनादेखि तलब पाएका थिएनन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ