+
Search

ताजा अपडेट +

पपुलर +

गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित, लुम्बिनीविरुद्ध १० विकेटको जित

पालिका लाइभ
२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं– आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

गौस र दिनर्श खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो ।

पोखराले पहिलो जितमा एनपीएलमा चार कीर्तिमान पनि बनायो । जसमा गौसको पहिलो शतक समेत रह्यो । गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा गर्‍यो ।

एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने उनी । १६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मदतमा शतक बनाएका हुन् । गौसले ५५ बल खेल्दै अविजित १०४ रन जोडे । उनले १२ चौका र ५ छक्का नै प्रहार गरे ।

यसैगरी विजयी छक्का प्रहार गरेका दिनेशले ४६ बल खेल्दै अविजित ६१ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रन मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।

अन्तिम बलमा रनआउट हुनुअघि रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए । अन्तिम दुई बल बाँकी छँदा रोहित ९४ रनमा खेलिरहेका थिए । तर अन्तिम ओभरको पाँचौ बलमा सिंगल लिएपछि रोहित शतक बनाउने पहिलो खेलाडी बन्नबाट चुके ।

लुम्बिनीको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ