+
Search

ताजा अपडेट +

पपुलर +

महानगरविरुद्ध सडकमा कवाड व्यवसायी, माइतीघरमा नारा : छोटे राजाको आतंक बन्द गर

पालिका लाइभ
२०८१ असार २, आईतवार

काठमाडौं– अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडको विरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपूर्तिको माग गर्दै काठमाडौँमा आज कबाड व्यवसायीले प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । हजारौँको सहभागितामा निकालिएको सो र्‍यालीमा सहभागीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका विरुद्धमा चर्को नाराबाजी समेत गरेका छन् ।

‘….. बालेन ….., कुर्सी छोड’, ‘हामी यहाँ छौँ, बालेन तिमि कहाँ छौँ’, ‘कबाड व्यवसायीलाई सुरक्षा दे’ लगायतका नारा उनीहरूले लगाएका छन् । यस्तै प्रदर्शनमा ‘छोटे राजाहरूको आतङ्क बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर’ जस्ता नाराहरू आन्दोलनकारीले लगाएका छन् ।

काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरीत तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी सङ्घर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरूको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कबाड व्यवसायीका नेता सञ्जय साहले जनाएका छन् ।

पछिल्लो समय काठमाडौं महानगरका मेयर शाहले कानुन तथा अदालतको अन्तरिम आदेश विपरीत दुख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको साहले बताए । आफूहरूको माग सम्बोधन नभए माइतीघरमा धर्ना एवं प्रदर्शन मात्रै नभई कबाड व्यवसायीहरूले ४ असारमा महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ