गोरखा – विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल पनि त्यसबाट अछुतो रहन सकेन ।
२०७६ साल चैत ११ गतेदेखि नेपालमा पहिलो पटक कोरोनाकै कारण लकडाउन सुरु भयो । तत्कालीन सरकारले हप्ता दिन, पन्ध्र दिन गर्दै लकडाउनलाई ६ महिनासम्म लम्ब्याएको थियो । लामो समयसम्मको बन्दाबन्दीले धेरै मानिस खान नपाएर र अन्य रोगको समेत उपचार नपाएर त्यतिकै ज्यान गुमाउनु पर्ने अवस्थामा पुगेका थिए ।
तत्कालीन अवस्था यस्तै दुःख र पीडामा परेकाहरूका लागि सहयोग गर्न भनेर धेरै संघसंस्था र केही मनकारीहरूको समूह पनि जन्मिए । यसरी जन्मिएको एउटा समूह थियो हेल्पिङ हेन्ड्स अफ पालुङ्टार । यस समूहले लकडाउनका बेला आफ्नो नगर क्षेत्रभित्रका सबैजसो वडामा पुगेर खाद्यान्न अभावकै कारण खान नपाएकाहरूका लागि राहत वितरण गरेर धेरैको उद्धार गरेको थियो ।
यसरी एकपछि अर्को गर्दै पीडितको उद्धारमा खटिएको यस संस्थाले समाजमा सेवा गर्न पर्ने जस्ता देखिएकाहरू प्रायः सबैको उद्धार गरेर धेरैको मन जितिसकेको थियो ।
स्थानीय युवा लक्ष्मण गिरीको नेतृत्वमा रहेको समूहले एकपछि अर्को गर्दै सहयोगका हात बढाउँदै जाँदा समूहलाई देश तथा विदेशबाट सहयोग पनि उत्तिकै जुटिरहेको थियो । त्यसैगरी स्थानीय र सर्वसाधारणको स्याबासी सादुभाव पनि समूहप्रति उत्तिकै बढिरहेको थियो ।
२०७८ कार्तिक ८ मा औपचारिकता पाएको यस संस्थाले त्यस अगावै विभिन्न खालका समाजसेवामूलक काम गर्दै आइरहेको थियो । जटिल अवस्थामा समाजसेवा गर्न सुरु गरेको संस्थाले अवस्था अलि सहज बन्दै गएपछि अन्य क्षेत्रमा पनि आफ्नो हात अगाडि बढाउँदै लग्यो । त्यसैको पहिलो प्रयास स्वरूप नगरपालिकाको वडा नं. ५ मा हरेको ढिक डाँडामा बृहत् एकादशी मेलाको आयोजना गर्यो ।
त्यस मेलाबाट सफलता मिलेसँगै यो समूहलाई अझै काम गर्ने हौसला प्राप्त भयो र अन्य कार्यमा पाइला चाल्दै गयो । जसअनुरूप दाताहरूको सहयोगमा पालुङ्टार नगरपालिका वडा नं. २ खोल्लीमा एक वृद्धाका लागि आवास निर्माण गरिदियो ।
आवास निर्माणमा पहिलो प्रयास गरेको यो संस्थाले त्यसबाट सफलता र हौसला पाएपछि अझै ऊर्जाशील भएर ५ र ६ वडाभित्रका गरिब तथा आर्थिक अवस्था कमजोर भएका र असक्त व्यक्तिहरूका लागि आवास निर्माणका निमित्त आर्थिक सहयोग पनि जुटाउने काम गर्यो ।
राहत वितरण र भौतिक संरचना निर्माण मात्रै होइन यसले आर्थिक अभावका कारण उपचार गराउन नसकेकाहरूका लागि पनि आर्थिक सहयोग जुटाउँदै आएको छ । जसअनुरूप पालुङ्टार ९ का क्यान्सर पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । त्यसैगरी असक्त विद्यार्थीका लागि सिटिइभिटीमा निःशुल्क अध्ययन गर्ने व्यवस्था पनि यस संस्थाले मिलाइदिएको छ । शैक्षिक वर्ष २०७८ को एसइई परीक्षामा पालिकाभित्रबाट ३.६५ जिपिए प्राप्त गर्ने विद्यार्थी भाइबहिनीहरूलाई यस संस्थाले सम्मान पत्र समेत वितरण गरेको छ ।
यसै वर्षको दसैँ र तिहारको बिचमा आकर्षक पुरस्कार र ट्रली सहितको विभिन्न खाले खेलकुदका कार्यक्रम आयोजना गर्न लागेको यस संस्थाले युवाहरूलाई लक्षित गरेर एउटा विशेष खालको कार्यक्रम छिटै सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया