+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस गाेरखा- विचाैलीया उम्मेदवारकाे ‘रजगज’, विचल्लीमा पूराना नेता !

लीलाधर काेइराला
२०७८ आश्विन १५, शुक्रबार

गोरखा– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया तीव्र बन्दै जाँदा गोरखा सदरमुकाम यतिबेला राजनीतिक गतिविधिले निकै व्यस्त बनेको छ। वडा, पालिका तथा प्रदेश निर्वाचन क्षेत्रका अधिवेशन सम्पन्न भइसकेका छन् भने अब क्षेत्रीय अधिवेशन, महाधिवेशन प्रतिनिधि छनोट र जिल्ला अधिवेशनको चरण सुरु हुँदैछ। यही कारण गोरखा बजार क्षेत्रमा पछिल्ला दिनमा चहलपहल उल्लेखनीय रूपमा बढेको छ।

सदरमुकाम वरपर झन्डा टाँगिएका मोटरसाइकल र चारपाङ्ग्रे गाडीहरू, घरघरमा टाँगिएका ब्यानर र पोस्टरहरूले पूरै वातावरण चुनावीमय बनेको छ। विशेष गरी पार्टी कार्यालय तिनधारे आसपास र ठूलोआँगन क्षेत्रमा नेता–कार्यकर्ताको बाक्लो जमघट देखिन्छ। कांग्रेसको १६ गते क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि छनोटको कार्यक्रम तय भएको छ भने १८ गते जिल्ला अधिवेशन हुँदैछ।

तर, महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रियासँगै गोरखामा असन्तोष र आलोचनाका स्वर पनि बढ्न थालेका छन्। काठमाडौंमा बसेर विभिन्न शंकास्पद गतिविधिमा संलग्न रहेका व्यक्तिहरू गोरखाबाट उम्मेदवार बनेको भन्दै स्थानीय कांग्रेस नेता–कार्यकर्ताहरू असन्तुष्ट देखिएका छन्। लामो समयदेखि जिल्लामै रहेर कम्युनिस्ट तथा अन्य दलसँग संघर्ष गर्दै आएका नेता–कार्यकर्तालाई अब काठमाडौंमा बसेर ठगी र बिचौलिया धन्दा चलाउनेहरूलाई भोट दिनुपर्ने अवस्था आएको भन्दै गुनासो बढेको छ।

महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनेहरूमध्ये धेरै विवादास्पद छवि भएका र पार्टीभित्र बिचौलिया भनेर चिनिएका नेताहरू रहेको बताइन्छ। पैसाकै बलमा पार्टीभित्र राजनीति गरिरहेको आरोप लागेका यस्ता व्यक्तिहरू उम्मेदवार बनेपछि पुराना कांग्रेस नेताहरू चिन्तित बनेका छन्। उनीहरू पैसा नभई अब महाधिवेशन प्रतिनिधि बन्न नसकिने अवस्था आएको भन्दै निराशा व्यक्त गर्न थालेका छन्।

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी, क्यासिनो तथा कालोधन कारोबारसँग जोडिएका राजेन्द्र बजंगाईं, उद्धारको नाममा पदयात्री पर्यटक ठगी गरेको आरोप लागेका प्रेमराज खत्री तथा फेक रेस्क्यु प्रकरणका अभियुक्त देवेन्द्रराज वाग्ले लगायतले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएपछि विवाद थप चर्किएको हो। यी व्यक्तिहरूको उम्मेदवारीले कांग्रेसको छवि कमजोर हुने भन्दै स्थानीय तहका पुराना नेता तथा कार्यकर्ता असन्तुष्ट छन्।

आरुघाट–८ स्थायी घर भएका प्रेमराज खत्रीले शिक्षा, स्वास्थ्य र स्वरोजगार आफ्नो राजनीतिक आधार भएको दाबी गर्दै क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका छन्। तर, उनी नेपाल भ्रमणमा आउने पदयात्री पर्यटकलाई उद्धारको नाममा ठगी गर्ने गिरोहका नाइके भएको पुष्टि भइसकेको बताइन्छ। उनले सञ्चालन गरेको ‘एस द हिमालय’ नामक कम्पनीले विदेशी पर्यटकलाई उद्धारको बहानामा चरम ठगी गरेको तथ्य बाहिरिएको थियो।

कोभिड–१९ महामारीका बेला गोरखामा तामझामका साथ एम्बुलेन्स बाँडेर चर्चामा आएका खत्रीले सम्भव नेपाल नामक संस्थामार्फत यस्तो गतिविधि गर्दै आएको आरोप छ। महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा समेत एकाघरका परिवारमार्फत कारोबार गरेको र समाजसेवाको आडमा विभिन्न अवैध गतिविधि गरेको आरोप उनीमाथि लाग्दै आएको छ। भवन निर्माणदेखि एम्बुलेन्स वितरणसम्मका काममा आफन्तलाई मात्रै जिम्मा दिने र चर्को कमिसन लिएको आरोप पनि उनमा छ।

२०७० सालतिर कांग्रेस प्रवेश गरेका सांसद प्रकाशचन्द्र दवाडी पैसाकै आडमा राजनीतिमा आएको आरोप खेप्दै आएका छन्। ‘मेरो राजनीति समाजकै टेवा र सेवाका लागि’ भन्ने नारासहित उनी खुला १० तर्फ उम्मेदवार बनेका छन्। सांसद भएको चार वर्षमा उल्लेखनीय काम गर्न नसकेको आरोप खेपिरहेका दवाडी आगामी निर्वाचनलाई लक्ष्य गर्दै आफ्ना कार्यकर्ता पोस्न थालेको चर्चा छ।

जिल्लाका सिरानचोक, अजिरकोट, बारपाक–सुलिकोट र पालुङटार क्षेत्रमा क्षेत्रीय प्रतिनिधि बनाउने नाममा पैसाको चलखेल गरेको आरोप उनीमाथि लागेको छ। एक पालिकामा आफ्ना पक्षका उम्मेदवार हार्ने निश्चित भएपछि पैसाको खोलो नै बगाएको चर्चा अझै सेलाएको छैन। प्रत्यक्ष रूपमा आफै खटिएपछि ती उम्मेदवारबाट महाधिवेशन प्रतिनिधिमा देखाइने धम्कीसमेत उनले पाएको बताइन्छ।

देवेन्द्रराज वाग्ले पनि उद्धारको नाममा पदयात्री पर्यटक ठगी गर्ने गिरोहका अर्का नाइकेका रूपमा चिनिन्छन्। उनले पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्। उनको स्वामित्वको नेपाल भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रा.लि.लाई कारबाही गर्न पर्यटन मन्त्रालयले सिफारिससमेत गरेको थियो।

क्यासिनो व्यवसायमा संलग्न राजेन्द्र बजंगाईंमाथि कालोधन कारोबारको गम्भीर आरोप छ। खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था आइसिआइजेले उनी तीन अर्ब रुपैयाँभन्दा बढी कालोधन भित्र्याएको खुलासा गरेको थियो। उनी गोरखा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका छन् र यसअघि प्रदेशसभा ‘ख’ बाट पराजित उम्मेदवारसमेत हुन्।

यस्ता विवादास्पद छवि भएका व्यक्तिहरू महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेपछि गोरखाका पुराना कांग्रेस नेता तथा कार्यकर्ता गम्भीर चिन्तामा परेका छन्। पार्टीको वैचारिक आधारभन्दा पैसा र पहुँचका आधारमा प्रतिनिधि छनोट हुने हो भने कांग्रेसको भविष्य थप कमजोर हुने उनीहरूको भनाइ छ। महाधिवेशन प्रतिनिधि छनोटले कांग्रेसको आगामी नेतृत्व र दिशानिर्देश तय गर्ने भएकाले गोरखाको यो प्रतिस्पर्धा पार्टीभित्र निकै अर्थपूर्ण रूपमा हेरिन थालेको छ।

-गोरखाबाट प्रकाशन हुने दरौँदी दैनिकको सहयोगमा

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला