+
Search

ताजा अपडेट +

पपुलर +

एघारकिलो–छेवेटार–भाँलुस्वाँरा–बारपाक सडक : २४ किमि ‘मध्यपहाडी आयोजना’लाई बुझाउने तयारी

पालिका लाइभ
२०७५ फाल्गुन १, बुधबार

गोरखा- एघारकिलो–छेवेटार–भाँलुस्वाँरा–बारपाक सडक योजना अन्तर्गत पर्ने २४ किलो मिटर सडक मध्यपहाडी आयोजनालाई बुझाउने तयारी गरिएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सोही सडक हुँदै जाने भएपछि निर्माणको काम स्थगित गरी योजना हस्तान्तरण गर्न लागिएको हो ।

‘अहिले जुन अवस्थामा छ त्यहीँ अवस्थामा बुझाउने हामीले निधो गरेका छौँ’ सडक योजना कार्यालयका प्रमुख रबिन्द्रलाल दासले भने ‘अहिले लगानी गर्यो पछि फेरी मध्यपहाडीले भत्काउँछ सबै भन्दा राम्रो अहिले नै स्थगित गरी बुझाइदिऔँ भने उसले आफ्नो स्टान्डरमा रोड बनाउँछ ।’

मध्य पहाडीको पालुङटार–निबेल खण्डमा पर्ने उक्त सडकका विभिन्न खण्डमा लामो समय देखि ठेक्का सञ्चालन भइरहेको छ । तर काम भने पुरा हुन सकेको छैन । ‘अहिले फाइल हेर्दा कागजमा ६० प्रतिशत काम भएको देखिन्छ’ उनले भने ‘कन्टूायाक्टरले सोही अनुसार भुक्तानी पाउँछ ।

अहिलेकै कामको मेजरमेन्ट गरी पैसा दिने हो ।’ हालको नापजाँच अनुसार सम्बन्धित निर्माण व्यवसायीलाई आवश्यक रकम भुक्तानी दिने बारेमा सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

४० प्रतिशत काम बाँकी रहेको त्यहाँ ठेक्का रद्द गरी आयोजनालाई बुझाउन लागिएको हो । जसले गर्दा राज्यको ठुलो रकम खेर जानबाट जोगिने उनको तर्क छ । ‘मध्य पहाडीको डिजाइन र स्टान्डर जुन छ त्यो हाम्रो सडकसँग म्याच खाँदैन’ योजना प्रमुख दासले भने ‘मध्य पहाडीको सडक टोटल ९ मिटर चौडा हुन्छ । तर हामीले बनाउने यो सडक धेरै सानो हुन्छ ।’ मध्य पहाडीको मापदण्ड नपुगेपछि पुनः भत्काएर बनाउनु पर्ने भएकोले अहिले नै काम रोकेर ठेक्का रद्द गर्न लागिएको उनले बताए ।

उक्त ठेक्का रद्द गरेपछि मध्यपहाडीले नछुने ठाउँमा मात्र सडक कालोपत्रे गर्ने कार्यालयको तयारी छ । विभिन्न ४ खण्डमा काम गरे पनि मसाने ठाँटी–सात दोबाटोको करिब ७ किलोमिटर सडकको बाहेक अधिकांश खण्डमा काम सम्पन्न भइसकेको कार्यालयले जानकारी दिएको छ । उक्त ठेक्का रद्द गर्दा राज्यको ४ करोड भन्दा बढी रकम दुरुपयोग हुनबाट बच्ने योजना प्रमुख दासको दाबी छ ।

सडक हस्तान्तरणका लागि मध्यपहाडी आयोजनाका दीपक गिरीसँग छलफल गरी छिट्टै डिपिआर गर्ने निर्णय भएको उनले बताए । अब उक्त समस्या टुंगिइसकेकोले मध्य पहाडीलाई काम सुरु गर्ने बाटो समेत खुल्ला भइसकेको उनको भनाई छ ।

‘अबको ४÷५ दिनमा हामी ह्याण्डओबर गर्छौैं’ उनले भने ‘डिपिआर बनाउने उहाँहरूको काम अब सुरु गर्न पनि सक्नुहुन्छ ।’ मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखामा पर्ने ६४ किलोमिटर सडक मध्ये २८ किलोमिटर सडकको सोही कारण अहिले सम्म काम सुरु हुन सकेको छैन ।

जिल्लाका कतिपय खण्डहर निर्माण सम्पन्नको तयारीमा रहँदा निवेश–पालुङटार खण्ड मध्य पहाडीको जिम्मामा नआएका कारण हालसम्म काम सुरु हुन नसकेको हो । त्यहाँ डिपिआर समेत हुन सकेको छैन ।

यता मध्यपहाडी आयोजनाका सूचना अधिकारी विष्णु पाण्डेले हाल सम्म उक्त खण्ड आयोजना मातहतमा नआएको भन्दै जति छिटो हस्तान्तरण हुन सक्यो उति छिटो काम सुरु हुने बताएका छन् । ‘अहिले सम्म हाम्रो जिम्मा आएको छैन’ उनले भने ‘यदि उहाँहरूले बुझाउनु भयो भने हामी तुरुन्त डिपिआर निर्माण गरी काम सुरु गरिहाल्छौँ ।’

पूर्व पाँचथरको चियो भञ्जाङ देखि पश्चिम बैतडीको झुलाघाटसम्म १ हजार ७ सय ५० किलोमिटर लामो राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग लमजुङसँगको सिमाना चेपेबाट पालुङटार–निबेल–घ्याम्पेसाल–आरुघाट हुँदै बुढीगण्डकीको धादिङ जोडिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ