+
Search

ताजा अपडेट +

पपुलर +

कार्यालय समायोजनको कुराले बढायो अन्यौलता

पालिका लाइभ
२०७४ फाल्गुन १९, शनिबार

गोरखा– जिल्ला सदरमुकाममा रहेका विभिन्न सरकारी कार्यालय स्थानीय तहमा समायोजन हुने भएपछि हाल सञ्चालनमा रहेका कामहरू के हुने भन्ने अन्योल बढेको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिका लगायतका महत्त्वपूर्ण कार्यालयहरू आगामी चैत २८ देखि पूर्ण रूपमा स्थानीय तहको मातहतमा रहने भएपछि अहिले सञ्चालन भइरहेका कार्यक्रमको भविष्य बारे अन्यौलता बढेको हो ।

‘यदि चैत्र २८ गते देखि ती सरकारी कार्यालय स्थानीय तहमा समायोजन हुने हो भने अहिले भइरहेका कार्यक्रमको भविष्य के हुने भन्ने अन्यौलता बढेको छ’ जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले भने ।तर समायोजन हुने भनिएका सम्पूर्ण सरकारी कार्यालयहरूले गत आर्थिक वर्षमा निर्माण गरिएको नीति तथा कार्यक्रम अनुसार असार मसान्त सम्म काम गर्नुपर्ने छ ।

‘चैत २८ गते कार्यालय समायोजन हुने भयो भने कतै असार मसान्तसम्म अख्तियारी पाएका योजनाहरू तत्काल ठप्प हुने अवस्था छ’ जिशिअ सुवेदीले भने । जिल्ला शिक्षा मातहतमा रहेका एसइई, कक्षा ११ र १२ परीक्षा केन्द्र समेत जिल्ला सदरमुकाममा मात्र रहेका राष्ट्रिय परीक्षा समेत सञ्चालनमा समस्या पर्ने देखिएको छ ।

कक्षा ११ र १२ को परीक्षा चैत्र २८ पछाडि सञ्चालन गर्ने कार्यालय रहे पनि अब कसले सञ्चालने गर्ने भन्ने स्पष्ट भएको छैन । यस्तै समस्याहरू कृषि, पशु, स्वास्थ्य लगायतका कार्यालयहरूमा पनि देखिने भएको छ । ‘यस आर्थिक वर्ष भित्र सञ्चालनमा रहेका योजनाहरू असार मसान्त सम्म टुङ्ग्याउनु पर्नेछ, यदि त्यस्तो भयो भने ती योजनाको भविष्य के हुने ?, कसले भुक्तानी गर्ने हामी त अन्यौलता छौ’ जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले भने ।

शिक्षा र कृषिमा जस्तै भूमिसुधार कार्यालयमा पनि समस्या छ । हाल भइरहेका काम कसलाई जिम्मा लगाएर जाने ? कर्मचारी समायोजनको कसरी कहाँ हुने जस्ता कुराहरू अन्यौलता रहेको ती कार्यालयका प्रमुखहरूले बताएका छन् । उनीहरूले त्यसको लागि आवश्यक समन्वय गरिदिन प्रदेश सरकार र मन्त्रीहरूलाई समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ