गोरखा– जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी तीव्र पारिएको छ । जिल्लालाई पूर्ण खोपयुक्त बनाउने क्रममा हालसम्म जिल्लाका १६ गाविस लाई हालसम्म पूर्ण खोपयुक्त गाविस घोषणा गरिसकिएको छ ।
यसै क्रममा कसरी जति सक्दो चाँडो जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सकिन्छ भन्ने बारेमा आज एक अन्तरक्रिया सम्पन्न भएको छ ।
जिविस हलमा भएको छलफलले स्थानीयस्तर र कार्यालयको अनुगमनबाट खोपयुक्त गाविस घोषणा गर्न योग्य प्रतिवेदन प्राप्त गाविसहरू केराबारी, ताकुकोट र सौरपानीलाई क्रमशः चैत्र २१ गते, २४ गते र २८ गते पूर्ण खोपयुक्त गाविस घोषणा गरेको छ ।
त्यस्तै, कार्यालयको अनुगमनबाट प्रतिवेदन प्राप्त भइनसकेका खोेप्लाङ, देउराली, घ्याल्चोक, धुवाँकोट, आरुआर्वाङ, मिरकोट, स्वाँरा, वोर्लाङ, गाँखु र जौवारी गाविसलाई पनि छिट्टै अनुगमन गरेर खोपयुक्त गाविस घोषणा गर्ने तयारी गरेको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जानकारी दिए।
यसै वर्षको पौष १७ गतेबाट सुरु भएको खोपयुक्त क्षेत्र घोषणा गर्ने अभियान चैत्र ५ गतेसम्म १६ गाविसहरू खोपयुक्त गाविस घोषणा भइसकेका छन् ।
कार्यक्रममा स्थानीय विकास अधिकारी नारायण आचार्य, जनस्वास्थ्य प्रशासक महेन्द्र ध्वज अधिकारी लगायत जिल्लामा क्रियाशील राजनीतिक दल, सरकारी तथा गैरसरकारीमा कार्यालयका प्रमुख तथा प्रतिनिधि हरूको उपस्थिति रहेको थियो ।
आगामी ९ महिना भित्रमा गोरखालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नको लागी आज जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले छलफल गरेका हुन् ।
प्रतिक्रिया