+
Search

ताजा अपडेट +

पपुलर +

मेयर्स फोरमले उपप्रधानमन्त्री सिंहलाई भेट्यो, बालेनले गरे बहिष्कार

पालिका लाइभ
२०८१ श्रावण १७, बिहीबार

काठमाडौं– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगायतको क्षेत्रमा छिट्टै नतिजा देखिने गरी मन्त्रालयले काम गरिरहेको बताएका छन् । आज काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

मेयर्स फोरमले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै स्मार्ट सिटी, सडक बत्तीको महसुल, बागमती लगायतको विषयमा ध्यानाकर्षण समेत गराएको थियो ।

उपप्रधानमन्त्री सिंहले उपत्यकालाई बस्न लायक बनाउन मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने भन्दै छिट्टै नतिजा देखिने गरी काम भइरहेको बताए ।

भेटमा मेयर्स फोरमले बर्षौंदेखि स्मार्ट सिटिका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्न माग गरेको थियो । उपप्रधानमन्त्री सिंहले सो समस्या छिटै समाधान हुने बताए । उनले भने, ‘स्मार्ट सिटिका लागि जग्गा रोक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो छ । चाँडै नतिजा देखिने गरी मन्त्रालयले काम अघि बढाएको छ ।’

त्यस्तै, मेयर्स फोरमले सडक बत्तीको बिल विद्युत् प्राधिकरणले नगरपालिकाका नाममा पठाएको भन्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्व भित्र पर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए । उपप्रधानमन्त्री सिंहले सडक बत्तीको बिलको समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने बताए ।

‘तपाईँहरूले सडक बत्तीको महसुलको विषयमा कुरा उठाउनुभयो । ऊर्जा मन्त्रालयसँग छलफल गरेर तपाईँहरूको भावनाअनुसार मन्त्रालयले भूमिका खेल्छ,’ उनले भने । मेयर्स फोरमले आर्थिक वर्ष ०८१/८२ देखि पालिका मातहतको सडक,सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतकाे महसुल भुक्तानी स्थानीय तहले ६० प्रतिशत तिर्ने गरी आवश्यक समन्वय गरिदिन आग्रह गरेको थियो ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पुनर्संरचना गर्ने पनि बताए । जनप्रतिनिधिहरूको प्रतिनिधित्व बढ्ने गरी प्राधिकरणलाई समयसापेक्ष बनाइनेमा ढुक्क हुन उनले आग्रह गरे ।

त्यस्तै, उनले स्वच्छ उपत्यका र सफा बाग्मती बनाउनु आफ्नो प्राथमिकता रहेको भन्दै खोलामा सिधै ढल बन्द गर्न के गर्नुपर्छ ? त्यसका लागि मिलेर काम गर्नका लागि पनि आग्रह गरेका छन् ।

उनले सुकुम्वासी समस्या समाधानका लागि पनि उपत्यकाका स्थानीय तहसँग मन्त्रालयले संयुक्त रूपमा काम गर्न आग्रह गरे ।

मेयर्स फोरमको टोलीमा काठमाडौँ महानगरका मेयर बालेन शाह भने अनुपस्थित थिए । पछिल्लो समय बालेनले मेयर्स फोरमका कार्यक्रम बहिष्कार गर्दै आएका छन् ।

काठमाडौं उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ