+
Search

ताजा अपडेट +

पपुलर +

बालेनको सचिवालयको स्पष्टीकरण : पत्नी सवार गाडीलाई ट्राफिकले रोकेर हप्की-दप्की गरे, थुन्ने धम्की दिए

पालिका लाइभ
२०८० भाद्र १७, आईतवार

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको बताएको छ ।

शनिबार राति फेसबुकमार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । उनले महानगरको गाडी कसले र किन रोकेको थियो भन्ने खुलाएका थिएनन् । उत्तेजक अभिव्यक्ति दिएको भन्दै बालेनको सार्वजनिक आलोचना भएपछि आइतबार उनको सचिवालयले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको छ ।

बालेनको स्वकीय सचिवालयका अनुसार बालेन दम्पतीका शिशु (मेडिसिटी अस्पताल) एनआईसीयूमा उपचाररत छन् । शनिबार साँझ बालेनकी पत्नी सविनाको स्वास्थ्यमा जटिलता देखिएपछि बालेनले चढ्ने महानगरको गाडीमा अस्पताल गएकी थिइन् ।

आफ्नो स्वास्थ्य परीक्षण गर्नुका साथै शिशुलाई स्तनपान गराएर घर फर्किँदा सविना चढेको गाडीलाई कोटेश्वरमा चेकजाँचमा बसेको ट्राफिक प्रहरीले रोकेको थियो । त्यस क्रममा प्रहरीले दुर्व्यवहार गरेको बालेनको स्वकीय सचिवालयले जनाएको छ ।

सार्वजनिक विदाको दिन प्रयोग गर्न मिल्ने अनुमति लिएको भए पनि त्यतिबेला गाडीमा थिएन । ‘नगर प्रमुखसहितको परिचय खुलाएपश्चात प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो, प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नगरी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गर्‍यो’ विज्ञप्तिमा भनिएको छ ।

प्रश्रव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दीय भएको बालेनको स्वकीय सचिवालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ