+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरको बजेट साढे २५ अर्ब, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

पालिका लाइभ
२०८० असार ३०, शनिबार

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/२८१ का लागि नगर सभामा पेस गरेको बजेट सर्वसम्मतले पारित भएको छ।

उपप्रमुख सुनिता डङ्गोलले असार १० गते आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट नगर सभामा प्रस्तुत गरेकी थिइन्।

शुक्रबार बसेको नगर सभाको पाँचौँ बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले बजेटलाई निर्णयार्थ पेस गर्दा सर्वसम्मतिले पारित भएको हो। महानगरको १३औँ नगर सभाको पहिलो बैठक असार ६ गते बसेको थियो।

महानगरपालिकाले ल्याएको २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बजेटमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

असार २१ गते बजेट पारित गर्न बोलाएको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढङ्गले बजेट विनियोजन गरेको भन्दै विरोध गरेपछि २६ गतेसम्म सारिएको थियो।

चालु आर्थिक बर्षको भन्दा आगामी बर्षका लागि महानगरले करिब १४ करोडले बढी बजेट ल्याएको छ।

महानगरकाे बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकताका साथ विनियोजन गरिएको छ। पूर्वाधारमा सबैभन्दा धेरै सात अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ। शिक्षामा एक अर्ब ३२ करोड र स्वास्थ्यमा ९२ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयले बजेटमा स्थान पाएका छन्। आगामी आर्थिक वर्षका लागि कामपालाई संघिय सरकारबाट दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ।

महानगर गौरवको योजनाका लागि तीन अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ।

महानगर स्वर्णिम योजनाअन्तर्गत २५ विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब विनियोजन गरिएको उपप्रमुख डङ्गोलले जानकारी दिइन्। वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि एक अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ