गोरखा– छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा पालुङटार नगरपालिका–४ स्थित अमरज्योति जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार न्यौपानेमाथि विद्यालयमा कक्षा १२ मा अध्ययनरत १६ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ। पीडित छात्राको जाहेरीका आधारमा उनलाई सोमबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो।
पीडित छात्राले अध्यक्ष न्यौपाने छात्राबासमा रहेको आफ्नो कोठामा पुगेर संवेदनशील अंगमा छुनेजस्ता अभद्र व्यवहार गर्दै आएको आरोप लगाएकी छन्। जाहेरीअनुसार असार २ गते राति करिब २ बजे न्यौपाने छात्राबास पुगेका थिए। त्यस क्रममा उनले झ्यालबाट सिरक तानेको र छात्रा डराएर खाटमुनि लुकेपछि तन्नासमेत तानेर च्यातेको आरोप लगाइएको छ।
घटनापछि पीडित छात्राका आफन्तले प्रहरीमा उजुरी दिएका थिए। छात्राले बिहीबार जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरीसमेत दिएकी छन्। उनी विद्यालय परिसरमा रहेको ब्लाइण्ड होस्टेलमा दृष्टिविहीन शिक्षिका तथा आफ्नी सानीआमासँग बस्दै अध्ययन गर्दै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भोला रावलले उजुरी प्राप्त भएपछि न्यौपानेलाई झिकाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए। उनका अनुसार सार्वजनिक हितविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।
यता आरोपित न्यौपानेले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्। उनले विद्यालयभित्रको विवादका कारण आफूलाई सुनियोजित रूपमा फसाउन खोजिएको दाबी गरेका छन्।
‘विद्यालय बनाउने कि बिगार्ने भन्ने लडाइँ हो। केही व्यक्तिले योजनाबद्ध रूपमा मलाई फसाउन खोजेका छन्,’ न्यौपानेले भने।
घटनाको विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएपछि विद्यालयले सञ्चालनमा रहेका परीक्षा स्थगित गरेको छ।
प्रधानाध्यापक माधवराज देवकोटाका अनुसार बाँकी तीन विषयको परीक्षा विद्यार्थीले बहिष्कार गरेपछि विद्यालयमा बर्खे बिदा दिइएको छ। विद्यालय १३ साउनमा सञ्चालन भएपछि बाँकी परीक्षा लिने तयारी गरिएको छ।
‘तीन विषयको परीक्षा बाँकी थियो। बिहीबार विद्यार्थीले परीक्षा बहिष्कार गर्दै आन्दोलन गरेपछि परीक्षा स्थगित गरेर बर्खे बिदा दिएका हौँ,’ प्रधानाध्यापक देवकोटाले भने।
प्रतिक्रिया