+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी गाडी लिएर क्यासिनो पसेका सखुवाप्रसौनीका अध्यक्ष यादव पक्राउ

पालिका लाइभ
२०८३ भाद्र २१, आईतवार

वीरगन्ज– पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी गाडीसहित क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिवार राति जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको गण्डकस्थित क्लार्क रिसोर्टको क्यासिनोमा छापा मार्दा अध्यक्ष यादवसहित आठ जना नियन्त्रणमा परेका हुन्।

प्रहरीले क्यासिनो परिसरबाट गाउँपालिकाको ना १ झ १६८७ नम्बरको सरकारी स्कर्पियोसमेत नियन्त्रणमा लिएको छ। गाउँपालिकाको सरकारी सवारी साधन प्रयोग गरेर जनप्रतिनिधि क्यासिनो पुगेको विषयलाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी पवनकुमार भट्टराईले अध्यक्ष यादवसहित आठ जना पक्राउ परेको पुष्टि गरे।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले अध्यक्ष यादवसहित पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको र आइतबार सार्वजनिक गरिने बताए।

नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न कानुनतः प्रतिबन्ध छ। तर, पर्साका क्यासिनोमा नेपाली ग्राहक जाने गरेको सूचना लामो समयदेखि आउने गरेको थियो। प्रहरीले पटक-पटक छापा मार्ने प्रयास गर्दा पनि सूचना चुहिने र क्यासिनोबाट नेपाली ग्राहक भाग्ने गरेकाले प्रहरी रित्तो हात फर्किरहेको थियो।

राजनीतिक पहुँचको आडमा हेटौँडा, कलैया र पर्साका विभिन्न पालिकाका राजनीतिक घराना तथा व्यापारीहरू भारतीय रासन कार्ड देखाएर क्यासिनोमा छिर्ने गरेको प्रहरी स्रोतको भनाइ छ।

क्यासिनोको लतका कारण थुप्रै परिवारको आर्थिक बिचल्ली भएको उजुरी आएपछि प्रहरीले क्यासिनोमा निगरानी बढाएको थियो। यसै क्रममा यसपटक पालिका अध्यक्ष नै रङ्गेहात पक्राउ परेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ