+
Search

ताजा अपडेट +

पपुलर +

आफ्ना मानिस पहिरोमा पुरिएपछि डल्लासबाट जाग्यो पालुङटारे युवाको आत्मीयता, ३ करोडको राहत कोष घोषणा

राजीव राजभाटले व्यक्तिगत रूपमा ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरे

पालिका लाइभ
२०८३ भाद्र १६, मंगलवार

काठमाडौं– देशका विभिन्न भूभाग बाढी र पहिरोको चपेटामा परिरहेका बेला प्रवासमा रहेका गोरखाको पालुङटारका युवाहरू राहत तथा पुनर्निर्माण अभियानमा जुटेका छन्।

अमेरिकाको डल्लासमा व्यवसाय तथा सामाजिक गतिविधिमा सक्रिय पालुङटारका युवाहरूको पहलमा बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनर्निर्माणका लागि ३ करोड रुपैयाँको ‘नेपाल पुनर्निर्माण तथा राहत कोष’ घोषणा गरिएको छ।

गैरनाफामूलक संस्था ‘भिजिट नेपाल’ र ‘युथ एन्ड डेभलपमेन्ट’को संयुक्त पहलमा स्थापना गरिएको कोषको नेतृत्व भिजिट नेपालका अध्यक्ष तथा युवा उद्यमी राजीव राजभाटले गरेका छन्। अभियानको सुरुवात गर्दै राजभाटले आफ्नो व्यक्तिगत तर्फबाट ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकेका छन्। उक्त रकम तत्काल उद्धार तथा राहतका लागि प्रयोग हुने जनाइएको छ।

यो अभियानसँग राजभाटसहित डल्लासमा रहेका पालुङटारका युवाहरूको व्यक्तिगत पीडा पनि जोडिएको छ। जनैपूर्णिमाका दिन प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड मेला भर्न गएका पालुङटार–नौखरेका ३० जनाभन्दा बढी स्थानीय बाढी तथा पहिरोपछि बेपत्ता छन्। उनीहरूमध्ये राजभाटका निकट आफन्त तथा छिमेकीसमेत रहेको बताइएको छ।

आफ्नै गाउँका मानिस विपत्तिमा परेको खबरपछि डल्लासमा रहेका पालुङटारे युवाहरू स्तब्ध बनेका थिए। आफन्त र छिमेकीको अवस्था अझै अज्ञात रहेको पीडाबीच उनीहरूले शोकलाई शक्तिमा बदल्दै उद्धार, राहत र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरबाटै स्रोत जुटाउने निर्णय गरेका हुन्।

भिजिट नेपालका सदस्य तथा अभियन्ता किरण गिरीका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई राहत अभियानमा जोड्ने उद्देश्यले ‘एक नेपाली, एक रुपैयाँ’ अवधारणाअन्तर्गत ३ करोड रुपैयाँको कोष निर्माण गर्ने लक्ष्य राखिएको हो।

गिरीका अनुसार राजभाटले व्यक्तिगत रूपमा उपलब्ध गराएको ३० लाख रुपैयाँबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली परिचालन तथा अत्यावश्यक राहत सामग्री व्यवस्थापनमा सहयोग पुग्नेछ। कोषमा संकलन हुने बाँकी रकम भने तत्कालीन राहतमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्स्थापनामा परिचालन गर्ने योजना रहेको उनले बताए।

बाढीपहिरोबाट क्षति पुगेका विद्यालय, स्वास्थ्य चौकी तथा स्थानीय आधारभूत पूर्वाधारको पुनर्निर्माणमा सहयोग गर्ने योजना रहेको गिरीले बताए। त्यसैगरी अभिभावक गुमाएका तथा जोखिममा परेका बालबालिकाको शिक्षा र स्वास्थ्यमा समेत दीर्घकालीन सहयोग गर्ने तयारी रहेको उनले जानकारी दिए।

प्रवासमा रहेका पालुङटारका युवाहरूले सुरु गरेको यो अभियान तत्कालको उद्धार र राहतसँगै विपत्तिबाट प्रभावित परिवार तथा समुदायको दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अघि बढाइएको हो। आफ्नै गाउँका मानिस विपत्तिमा परेपछि विदेशमा रहेका युवाहरूले देखाएको यो पहलले प्रवास र मातृभूमिबीचको आत्मीय सम्बन्धलाई समेत उजागर गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ