+
Search

ताजा अपडेट +

पपुलर +

लयमा फर्किँदै नाडा अटो शो, शनिबार मात्रै ३५ हजारले गरे अवलोकन

तस्बिर : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
पालिका लाइभ
२०८३ भाद्र १४, आईतवार

काठमाडौं– भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शोमा शनिवार अवलोकनकर्ताको चहलपहल उल्लेख्य रूपमा बढेको छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अनुसार शनिवार मात्रै करिब ३५ हजारले अटो शो अवलोकन गरेका छन्।

मंगलबारदेखि सुरु भएको अटो शोको पहिलो दिन करिब ३० हजारले अवलोकन गरेका थिए। तर, बुधवार भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसबाट उत्पन्न परिस्थितिका कारण अटो शोमा अवलोकनकर्ताको चहलपहल केही घटेको थियो।

शुक्रवारदेखि भने अवलोकनकर्ताको संख्या पुनः बढ्न थालेको थियो। शनिवार सार्वजनिक बिदा परेकाले बिहानैदेखि अटो शोमा बाक्लो भीड देखिएको थियो। विशेषगरी नयाँ सवारी खरिद गर्ने योजनामा रहेका ग्राहकको उपस्थिति उल्लेख्य थियो।

नयाँ विद्युतीय कार, मोटरसाइकल तथा स्कुटरका स्टलमा अवलोकनकर्ताको बढी चाप देखिएको थियो। यस वर्ष नयाँ मोडलसँगै नयाँ ब्रान्डको प्रवेशले पनि अटो शोप्रति आकर्षण बढाएको छ।

अटो शोमा करिब दुई दर्जन नयाँ मोडल सार्वजनिक भएका छन् भने आधा दर्जनजति नयाँ अटोमोबाइल ब्रान्डले नेपाली बजारमा आफ्नो उपस्थिति जनाएका छन्।

चारपांग्रे सवारीतर्फ विद्युतीय गाडीमा विशेष आकर्षण देखिएको छ। नामी भिगो, नामी बक्स, नयाँ नेक्सन, पन्च ईभी, बीवाईडी एटो २, जेको जेफाइभ, चेरी क्यू, एक्सियन, आर्कफक्स टी–वान, ओरा फाइभ, लीपमोटर बी०३ र प्रोटोन इमास फाइभलगायत नयाँ मोडलका स्टलमा अवलोकनकर्ताको बाक्लो भीड देखिएको छ।

ईभीप्रति आकर्षण बढे पनि पेट्रोल सवारीसाधनप्रति ग्राहकको चासो भने कायमै छ। नयाँ सुजुकी ब्रेजा, जिम्नी र अल न्यू हुन्डाई भेन्यूलगायत पेट्रोल गाडीबारे पनि ग्राहकले चासोपूर्वक जानकारी लिइरहेका छन्।

दुईपांग्रे सवारीतर्फ नेपालमै उत्पादन भएको यात्री पी, यामाहा एक्सएसआर १५५, यामाहा आर १५, यामाहा फासिनो, अप्रिलिया एसआर १७६ तथा एक्सट्रिम २५० आरलगायत नयाँ मोडल हेर्न र जानकारी लिन चाहनेको भीड देखिएको छ।

हाइब्रिड सवारीतर्फ बीएआईसी बीजे३०ई, एमहिरो वान र बीवाईडी शार्कप्रति पनि अवलोकनकर्ताको चासो देखिएको छ।

यसपटकको अटो शोमा २३ वटा प्यासेन्जर कार, १७ वटा लाइट कमर्सियल भेहिकल र १३ वटा दुईपांग्रे ब्रान्ड गरी ५३ वटा सवारी ब्रान्ड सहभागी छन्। अटो पार्टपुर्जा, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीसहित २०० भन्दा बढी स्टल राखिएका छन्।

नयाँ मोडलसँगै कम्पनीहरूले ल्याएका छुट, बुकिङ योजना तथा वित्तीय सुविधाले पनि ग्राहकलाई अटो शोमै सवारी खरिद गर्न आकर्षित गरेको छ। विशेषगरी ३० देखि ५० लाख रुपैयाँ मूल्य समूहका कार, नयाँ मोटरसाइकल तथा स्कुटरमा ग्राहकको चासो बढी देखिएको छ।

अटोमोबाइल व्यवसायमा आएको सुस्तताका बीच आयोजना भएको अटो शोमा शनिवार देखिएको उत्साहले नेपाली अटो बजारमा ग्राहकको रुचि कायमै रहेको संकेत गरेको व्यवसायीहरू बताउँछन्।

7818034094 Nada auto show

भदौ १४ गतेसम्म सञ्चालन हुने अटो शोमा अन्तिम दिनसम्म अवलोकनकर्ताको संख्या अझ बढ्ने आयोजकको अपेक्षा छ।

‘मेड इन नेपाल’ पेभिलियनमा नेपाली उत्पादनको आकर्षण

यसैबीच, परिवारसँग अटो शो घुम्न जानेहरूका लागि यसपटक ‘मेड इन नेपाल/मेड फर नेपाल’ पेभिलियन पनि आकर्षणको केन्द्र बनेको छ।

गाडी, मोटरसाइकल र नयाँ प्रविधि हेर्न अटो शो पुग्ने अधिकांशको ध्यान अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडलमा जाने गरे पनि नाडाले पहिलोपटक छुट्टै पेभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भइरहेका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई प्राथमिकता दिएको छ।

पेभिलियनमा नेपाली उद्योगले उत्पादन गरिरहेका विद्युतीय मोटरसाइकल तथा स्कुटर, नेपालमा एसेम्बल भएका कार, अटोमोटिभ ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट, टायर तथा विभिन्न कम्पोनेन्टबारे प्रत्यक्ष जानकारी लिन सकिन्छ। नाडाका अनुसार पेभिलियनमा आठवटा स्टल छन्।

नेपालमै बनेको सवारीदेखि ब्याट्रीसम्म

पेभिलियनको मुख्य आकर्षण नेपालमा उत्पादन तथा एसेम्बलिङको सम्भावना देखाउने प्रयास हो। यात्रीका विद्युतीय स्कुटर, नेपालमा एसेम्बल गरिएका मेटा ईभी, हुन्डाईका सवारीसाधन तथा एसियन ब्याट्रिजका उत्पादनले स्वदेशमै अटोमोबाइल उद्योग विकास गर्न सकिने सम्भावना देखाएका छन्।

गाडी उत्पादनका लागि आवश्यक सबै सामग्री नेपालमै उत्पादन हुने अवस्था अझै बनिसकेको छैन। तर ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट तथा विभिन्न कम्पोनेन्ट उत्पादनमा नेपाली उद्योगको उपस्थिति विस्तार हुँदै गएको छ।

त्यसैले ‘मेड इन नेपाल/मेड फर नेपाल’ पेभिलियन नेपाली अटोमोबाइल उद्योगको वर्तमान अवस्था र आगामी सम्भावना बुझ्ने अवसरका रूपमा पनि हेरिएको छ।

परिवारसँग जाँदा बालबालिकाका लागि पनि उपयोगी

788034094 Nada auto show

अटो शोमा ठूला र महँगा गाडी हेर्नुका साथै नेपालमै के उत्पादन भइरहेको छ भन्ने बुझ्ने अवसर पनि पाइन्छ। परिवारसँग अटो शो पुग्ने अभिभावकले बालबालिकालाई नेपाली उद्योग, प्रविधि, विद्युतीय सवारी तथा रोजगारी सिर्जनाबारे प्रत्यक्ष जानकारी दिन सक्नेछन्।

अटो शो आयोजक नाडाका संयोजक अनुप बरालका अनुसार तीन लाख वर्गफुट क्षेत्रमा २०० भन्दा बढी स्टल राखिएका छन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी छन्।

त्यसका अतिरिक्त बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटो पार्ट्स, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन पनि प्रदर्शनीमा राखिएका छन्।

अटो शोमा ह्युमानोइड रोबोट र क्वाड्रुपेड रोबोटसमेत विशेष आकर्षणका रूपमा राखिएका छन्। नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले परिवारसँग अटो शो घुम्दा विदेशी ब्रान्डका नयाँ गाडीका साथै नेपालमै उत्पादन हुन थालेका सवारीसाधन तथा अटोमोबाइल सामग्रीबारे पनि जानकारी लिन आग्रह गरे।

‘यसपटकको नाडा अटो शोमा ‘मेड इन नेपाल’ हेर्नु भनेको केवल एउटा स्टल हेर्नु होइन, नेपालको अटोमोबाइल उद्योगको सम्भावना हेर्नु पनि हो,’ उप्रेतीले भने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ