+
Search

ताजा अपडेट +

पपुलर +

बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ”

पालिका लाइभ
२०८३ भाद्र १४, आईतवार

नुवाकोट– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोटमा उद्धार, राहत र पुनर्स्थापनाका लागि आवश्यक स्रोतसाधनको कमी हुन नदिने बताएका छन्। उनले जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारलाई तत्कालको मुख्य प्राथमिकता बनाउनुपर्ने बताएका छन्।

शनिवार नुवाकोट पुगेका वाग्लेले दिनभर बाढी प्रभावित क्षेत्र, उद्धार केन्द्र, राहत वितरण केन्द्र तथा सुरक्षा निकायका कमान्ड सेन्टरको निरीक्षण गरेका हुन्। विदुरस्थित नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमान्ड पोस्ट’मा पुगेर उनले उद्धार अभियानको पछिल्लो अवस्थाबारे सेनाका अधिकारीसँग छलफल गरे।

उद्धार अभियानको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बुधवारदेखि हराइरहेका नागरिकको खोजी तथा जीवित उद्धारलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन भइरहेको बताए। पछिल्लो समय विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारलाई उच्च प्राथमिकता दिइएको उनले बताए।

उद्धारसँगै विस्थापितका लागि अस्थायी बसोबास, खाद्यान्न तथा अन्य राहत सामग्री व्यवस्थापनको काम पनि भइरहेको थापाले जानकारी दिए। बाढी प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन तत्काल ‘बेलिब्रिज’ आवश्यक रहेको उनले औँल्याए।

वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनाका लागि सरकार आवश्यक सबै सहयोग उपलब्ध गराउन तयार रहेको बताए। स्रोतसाधनको अभाव भए तत्काल जानकारी गराउन सेनालाई आग्रह गर्दै उनले प्रभावित क्षेत्रमा आवश्यक कुनै पनि सामग्रीको कमी हुन नदिने प्रतिबद्धता जनाए।

त्यसपछि गौथली ब्यारेकस्थित हवाई उद्धार केन्द्र तथा राहत सामग्री संकलन र वितरण केन्द्र पुगेका वाग्लेले उद्धार तथा राहत व्यवस्थापनको अवस्थाको स्थलगत निरीक्षण गरे। उद्धार केन्द्रमा आफन्तको खोजीमा पुगेका परिवारजनले नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा परिवारका सदस्य फसेको भन्दै तत्काल उद्धारका लागि पहल गरिदिन आग्रह गरे।

परिवारजनको गुनासोपछि वाग्लेले नेपाली सेनाबाट प्राप्त पछिल्लो विवरण सुनाउँदै सुरुङमा फसेकाको उद्धार उच्च प्राथमिकतामा रहेको बताए। उनले उद्धार अभियानमा संलग्न नेपाली सेना तथा अन्य सुरक्षा निकायको प्रयासप्रति विश्वास राख्न परिवारजनलाई आग्रह गरे।

वाग्लेले बाढीले ध्वस्त बनाएको ढुङ्गे बजारको स्थलगत निरीक्षण गर्दै उद्धार अभियानको प्रगति र क्षतिको विवरणबारे स्थानीयसँग छलफल गरे। प्रभावित परिवारले तत्काल राहत तथा पुनर्स्थापनाका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

त्यसपछि ऐतिहासिक देवीघाट बजार पुगेका उनले बाढीबाट भएको क्षतिको निरीक्षण गरे। पीडित स्थानीयसँग भेट गर्दै वाग्लेले सरकार प्रभावितको साथमा रहेको बताए। हराएका आफन्तको खोजी, घाइतेको उपचार, राहत वितरण तथा विस्थापितको पुनर्स्थापनामा सरकार गम्भीर रहेको उनको भनाइ थियो।

गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुल क्षेत्रको निरीक्षण गर्दै वाग्लेले सडक तथा यातायात सम्पर्क पुनः स्थापनाको अवस्थाबारे समेत जानकारी लिए। उनले तल्लो पिपलटारस्थित आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टरको पनि निरीक्षण गरे। देवीघाटबाट उद्धार गरिएका स्थानीयसँग भेट गर्दै उनले उद्धारपछिको स्वास्थ्य तथा बसोबासको अवस्थाबारे जानकारी लिए।

बाढीमा बगिरहेको अवस्थामा उद्धार गरिएका स्थानीयको उपचारमा संलग्न सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग वाग्लेले स्वास्थ्य सेवाको अवस्था र आवश्यक स्रोतसाधनबारे छलफल गरे। उद्धार गरिएका प्रभावितको उचित पुनर्स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्ने उनले बताए।

यसैबीच अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाबारे समन्वयात्मक छलफल गरे। जिल्ला समन्वय समितिको हलमा आयोजित छलफलमा वाग्लेले विपद् प्रतिकार्यका लागि केन्द्र सरकारबाट स्रोतसाधनको अभाव हुन नदिने स्पष्ट पारे।

‘आर्थिक स्रोतको अभाव हुन्छ कि भनेर नसोच्नुहोस्,’ उनले भने, ‘विपद्मा परेका जनतालाई कुनै कुराको अभाव हुन नदिने गरी काम गर्नुहोस्। केन्द्र सरकारले आवश्यक सबै स्रोत र साधन उपलब्ध गराउँछ।’ दिनभरका उद्धार तथा राहत गतिविधिको अन्तिम सुरक्षा ब्रिफिङका लागि वाग्ले नेपाली सेनाको विदुर कमान्ड सेन्टर पुगे।

त्यहाँ गृहमन्त्री सुदन गुरुङ, सञ्चारमन्त्री विक्रम तिमल्सिना तथा नेपाली सेनाका उच्च अधिकारीले विपद्पछिको उद्धार अभियान र पछिल्लो अवस्थाबारे ब्रिफिङ गरे।

सुरक्षा निकायको ब्रिफिङअनुसार अहिले जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले मृतकको शव संकलन तथा राहत वितरणलाई पनि तीव्र बनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ