+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

पालिका लाइभ
२०८३ भाद्र ११, बिहीबार

काठमाडौं– भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनः स्थापनाका लागि ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गर्ने जनाएको हो।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावितको तत्काल उद्धारदेखि दीर्घकालीन पुनः स्थापनासम्मका काममा सहयोग पुग्ने गरी रकम उपलब्ध गराउन लागिएको बैंकले जनाएको छ।

बाढी र पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित परिवारलाई खाद्यान्न तथा अस्थायी बासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा राज्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा रकम प्रदान गर्न लागिएको बैंकको भनाइ छ।

भोटेकोशीमा आएको आकस्मिक बाढीले नदी तटीय बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनालगायतका संरचनामा क्षति पुर्‍याएको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहे पनि कतिपय स्थानमा सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा उद्धार र राहतमा कठिनाइ भइरहेको छ।

ग्लोबल आइएमई बैंकले यसअघि पनि बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ।

पछिल्लो सहयोगलाई पनि राष्ट्रिय विपद्का बेला समुदायप्रतिको दायित्वअन्तर्गत गरिएको बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंकका अनुसार बैंकको सेवा सञ्जाल ७७ वटै जिल्लामा विस्तार भएको छ। बैंकले ३४१ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।

बैंकले विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको पनि जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ