काठमाडौं– बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार र पुनः स्थापनाका लागि कुमारी बैंकले ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। बाँकी ३९ लाख रुपैयाँ बराबरका खोज तथा उद्धारमा प्रयोग हुने उपकरण नेपाली सेनालाई उपलब्ध गराउन पठाइएको बैंकले जनाएको छ।
बैंकका अनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमनलाई प्रभावकारी बनाउन एआई जडित पाँचवटा निगरानी ड्रोन, ५ केभीए क्षमताका तीनवटा पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ।
हालैको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्ला प्रभावित भएका छन्। ती क्षेत्रमा प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन सरकारसँग समन्वय गरी सहयोग गरिएको बैंकले जनाएको छ।
बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रतिको सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको उल्लेख गरेको छ। पछिल्लो सहयोगले प्रभावित क्षेत्रमा जारी राहत, खोज तथा उद्धार र पुनः स्थापनाका काममा सहयोग पुग्ने बैंकको अपेक्षा छ।
बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बैंकले बेपत्ताको खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ।
प्रतिक्रिया