गोरखा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको बताएका छन्।
गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ जोड्ने लुदीखोला मोटरेबल पुल उद्घाटन गर्दै उनले निर्धारित समयअघि विकास आयोजना सम्पन्न हुनु सुशासन र विकासप्रतिको प्रदेश सरकारको प्रतिबद्धताको उदाहरण भएको बताए।
स्याउली बजार–भट्टफाँट–मनकामना सडक खण्डअन्तर्गत निर्माण गरिएको ६० मिटर लामो पुल ७ करोड ५१ लाख ३० हजार ८५९ रुपैयाँको लागतमा निर्माण गरिएको हो। पूर्वाधार विकास कार्यालय गोरखाले गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड बिल्डर्स प्रालिसँग २०८२ असारमा ठेक्का सम्झौता गरेको उक्त पुल असोजदेखि निर्माण सुरु भई करिब आठ महिनामै सम्पन्न भएको हो।
पुल ठेक्का अवधि सकिनुभन्दा करिब १२ महिना अगावै निर्माण सम्पन्न भएको थियाे।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले वर्षौंसम्म अलपत्र पर्ने विकास आयोजनाको परिपाटीलाई तोड्दै समयअघि पुल निर्माण सम्पन्न हुनु निर्माण व्यवसायी, पूर्वाधार विकास कार्यालय, प्राविधिक टोली तथा सम्बन्धित सबै पक्षको समन्वय, प्रतिबद्धता र कार्यक्षमताको उत्कृष्ट उदाहरण भएको बताए।
उनले गुणस्तरीय पूर्वाधार समयमै तथा समयअघि निर्माण गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै यस्ता आयोजनाले नागरिकको दैनिक जीवन सहज बनाउने, आर्थिक गतिविधिलाई टेवा पुर्याउने र विकासको प्रत्यक्ष अनुभूति दिलाउने बताए।
पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख सन्तोष अर्यालका अनुसार ‘प्रि–स्ट्रेस्ड टी–बिम’ प्रविधिबाट निर्माण गरिएको पुलको निर्माण अवधि २०८४ वैशाखसम्म रहे पनि निर्धारित समयभन्दा निकै अगावै सम्पन्न भएको हो।
पुल सञ्चालनमा आएपछि गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाबीच वर्षभरि सवारीसाधन सञ्चालन हुने भएको छ। यसले बर्खायाममा हुने आवागमनको समस्या हट्नुका साथै प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य मनकामना मन्दिर पुग्ने यात्रुहरूलाई समेत सहजता हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया