+
Search

ताजा अपडेट +

पपुलर +

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन :

लोकसेवा छल्दै करारमा कर्मचारी नियुक्ति गर्दा आँबुखैरेनीमा थपियो ८३ लाख बेरुजु

प्रतिवेदनमा स्वीकृत दरबन्दीभित्र आवश्यक पदमा मात्र लोकसेवा आयोगमार्फत पदपूर्ति गर्न र दरबन्दीभन्दा बाहिर कर्मचारी नियुक्ति नगर्न गाउँपालिकालाई निर्देशन दिइएको छ।

पालिका लाइभ
२०८३ असार २०, शनिबार

तनहुँ– आँबुखैरेनी गाउँपालिकाले लोकसेवा आयोगमार्फत पदपूर्ति गर्नुपर्ने कर्मचारी स्वीकृत दरबन्दीभन्दा बाहिरबाट करारमा नियुक्त गरी ८३ लाख ४ हजार १५५ तलब–भत्तामा खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले यसलाई नियमविपरीत खर्च ठहर गर्दै उक्त रकम बेरुजुमा समावेश गरेको हो।

महालेखाको आर्थिक वर्ष २०८१/८२ को ६२औँ प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ ले स्थानीय तहलाई कार्यबोझ र आवश्यकताअनुसार संगठन संरचना स्वीकृत गरी सोहीअनुसार मात्रै कर्मचारी व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ। स्थायी पदपूर्ति आवश्यक परे लोकसेवा आयोगमार्फत प्रक्रिया अघि बढाउनुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै गाउँपालिकाले दरबन्दीभन्दा बढी कर्मचारी करारमा राखेर सार्वजनिक कोषबाट तलब वितरण गरेको पाइएको हो।

प्रतिवेदनले कार्यालय सहायक, कम्प्युटर अपरेटर, अमिन, अहेव, इन्जिनियर, सब–इन्जिनियर, मेकानिकल सब–इन्जिनियर, सदस्य–सचिव तथा स्वयंसेवकलगायतका पदमा करार कर्मचारी राखिएको उल्लेख गरेको छ। कतिपय पदमा स्वीकृत दरबन्दी नै नभएको अवस्थामा पनि नियुक्ति गरिएको महालेखाको निष्कर्ष छ।

सबैभन्दा बढी प्रशासन शाखाका तीन कम्प्युटर अपरेटरलाई ११ लाख ८४ हजार ८२४, पूर्वाधार विकास तथा भवन नियमन शाखाका दुई अमिनलाई ११ लाख २२ हजार ३६८, राजस्व शाखाका दुई सहायक पाँचौंलाई ९ लाख ७ हजार २२४ तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका दुई कार्यालय सहायकलाई ८ लाख ७९ हजार ६९८ भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ। यसबाहेक वडा कार्यालय, स्वास्थ्य शाखा, योजना शाखा, औद्योगिक ग्राम र आँबुखैरेनी विकास बोर्डमा समेत करार कर्मचारी राखी लाखौँ रुपैयाँ खर्च गरिएको छ। विकास बोर्डमा सदस्य विज्ञ गाउँपालिका अध्यक्ष शुक्र चुमानको साथी हुन् र उनै सदस्यको गाउँपालिकाको गेटमा अवैध फार्मेसीसमेत सञ्चालन छ ।

महालेखाले यस्तो अभ्यासले कर्मचारी व्यवस्थापन प्रणालीलाई कमजोर बनाउने, खुला प्रतिस्पर्धाको संवैधानिक व्यवस्थालाई प्रभावित गर्ने तथा स्थानीय तहमा अनावश्यक आर्थिक दायित्व थप्ने उल्लेख गरेको छ। प्रतिवेदनमा स्वीकृत दरबन्दीभित्र आवश्यक पदमा मात्र लोकसेवा आयोगमार्फत पदपूर्ति गर्न र दरबन्दीभन्दा बाहिर कर्मचारी नियुक्ति नगर्न गाउँपालिकालाई निर्देशन दिइएको छ।

महालेखाको अभिलेखअनुसार यो बेरुजु हालसम्म नियमित हुन सकेको छैन।

याे पनि,

आँबुखैरेनीमा शुक्रको चार वर्ष, पाँच गुणाले बढ्यो बेरुजु

आँबुखैरेनी गाउँपालिकामाथि गम्भीर प्रश्नहरू: करोडौंको खर्च विवरण अस्पष्ट

महालेखाको प्रतिवेदनमा संलग्न तालिका अनुसार व्यक्तिगत रूपमा निम्नानुसार भुक्तानी भएको देखिन्छ:

पद शाखा नाम भुक्तानी रकम
इन्जिनियर ६ तह ६ नं. वडा कार्यालय पंकज चितौरे मगर ५,४५,३२५
सहायक चौथो/कम्प्युटर अपरेटर प्रशासन शाखा अमृत क्षेत्री ३,४६,४३९
सहायक चौथो/कम्प्युटर अपरेटर प्रशासन शाखा रश्मी मगर ४,३९,१५५
सहायक कम्प्युटर अपरेटर प्रशासन शाखा सुशीला गुरुङ १,२०,०००
सहायक कम्प्युटर अपरेटर प्रशासन शाखा रचना धानचौरे १,२०,०००
अमिन शिक्षा शाखा सन्देश भण्डारी ४,६८,०४९
सहायक चौथो योजना शाखा सृजना गुरुङ ४,४४,८७४
सहायक पाँचौं राजस्व शाखा अरुण गुरुङ ४,६६,८७५
सहायक पाँचौं राजस्व शाखा अनिल दवाडी ४,४०,३४९
अ.हे.व. स्वास्थ्य शाखा ममता गुरुङ ४,३३,४३६
अमिन पूर्वाधार विकास तथा भवन सरोज चन्द्र अधिकारी ६,७८,०१९
अमिन पूर्वाधार विकास तथा भवन सन्तोष क्षेत्री ४,४४,३४९
कार्यालय सहायक महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्मला गुरुङ ४,३८,८४९
कार्यालय सहायक महिला, बालबालिका तथा ज्येष्ठ नागरिक गंगादेवी बराल ४,४०,८४९
सहायक २ नं. वडा कार्यालय अनिशा गुरुङ ४,३३,३४९
सब–इन्जिनियर ४ नं. वडा कार्यालय अमर के.सी. ४,८८,८९०
मेकानिकल स.ई. औद्योगिक ग्राम विमल बाबुराना ४,५६,९६६
सदस्य–सचिव आँबुखैरेनी विकास बोर्ड किशोर सुवेदी ६,६०,६५७
स्वयंसेवक पवन नेपाली ४,३७,७२६
जम्मा ८३,०४,१५५

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ