काठमाडौं– आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रिजेन्टेड एन्युअल (बीपीए) रिपोर्ट अवार्ड अन्तर्गत ब्रोन्ज अवार्ड प्राप्त गरेको छ।
काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका हुन्।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्याङ्कनका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
कम्पनीका अनुसार यस अवार्डले वित्तीय जबाफदेहिता, पारदर्शिता र सुशासनलाई संस्थागत रूपमा आत्मसात् गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गरेको दाबी छ।
अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत खड्काले यो सम्मान सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गर्वको विषय भएको बताए। उनले यसले वित्तीय पारदर्शिता, सुशासन तथा उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन थप जिम्मेवारीसमेत थपेको उल्लेख गरे।
यसै वर्ष कम्पनीले वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ‘ए माइनस’ क्रेडिट रेटिङ पनि प्राप्त गरेको छ।
हाल आईएमई लाइफका देशभर १६० शाखा तथा उपशाखा र ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल रहेका छन्। कम्पनीले सुदृढ संस्थागत सुशासन, वित्तीय पारदर्शिता तथा ‘आईएमई लाइफ, भविष्य सुनिश्चित गर्दै’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।
प्रतिक्रिया