+
Search

ताजा अपडेट +

पपुलर +

धार्चे गाउँपालिकाको बजेट ४८ करोड, कृषि, पर्यटन, शिक्षा र पूर्वाधारमा जोड

पालिका लाइभ
२०८३ असार १३, शनिबार

गोरखा– धार्चे गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले बुधवार गाउँपालिकाको २०औँ गाउँसभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरेकी हुन्।

‘सुन्दर, सुरक्षित, समृद्ध धार्चे’ भन्ने मूल नारालाई आत्मसात गर्दै गाउँपालिकाले स्थानीय आवश्यकता, भौगोलिक अवस्था र जनताको अपेक्षालाई केन्द्रमा राखेर बजेट निर्माण गरेको जनाएको छ। बजेटले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, रोजगार र सुशासनलाई मुख्य प्राथमिकताका रूपमा अघि सारेको छ।

कुल बजेटमध्ये चालुतर्फ र पुँजीगततर्फ आवश्यक रकम विनियोजन गरिएको छ। बजेटको स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड, प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको आन्तरिक आयलाई मुख्य आधार बनाइएको छ।

संघीय सरकारतर्फ समानीकरण अनुदानबाट १० करोड ६७ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट १० करोड ६५ लाख २० हजार रुपैयाँ, सशर्त अनुदानबाट १८ करोड २६ लाख रुपैयाँ र विशेष अनुदानबाट ९९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारतर्फ समानीकरण अनुदानबाट १ करोड १८ लाख ७१ हजार रुपैयाँ र राजस्व बाँडफाँडबाट १ करोड १६ लाख ३८ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। आन्तरिक स्रोततर्फ बैंक मौज्दात तथा अन्य आम्दानीबाट ३ करोड रुपैयाँ र राजस्व संकलनबाट १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

क्षेत्रगत बजेट विनियोजनमा सामाजिक विकास क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ। सामाजिक विकासका लागि २३ करोड २ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ। जसअन्तर्गत शिक्षा, भाषा तथा साहित्य क्षेत्रका लागि १५ करोड ८० लाख ५० हजार रुपैयाँ र स्वास्थ्य तथा पोषण क्षेत्रका लागि ६ करोड ९ लाख रुपैयाँ छुटाइएको छ।

पूर्वाधार विकासतर्फ ८ करोड ९७ लाख ५० हजार रुपैयाँ बजेट राखिएको छ। सडक तथा यातायात सुधारका लागि ४ करोड ५१ लाख ५० हजार रुपैयाँ र बस्ती विकास, आवास तथा भवन निर्माणका लागि ४ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ। दुर्गम भूगोलका कारण प्रभावित यातायात पहुँच सुधार र पूर्वाधार विस्तारलाई बजेटले प्राथमिकता दिएको छ।

आर्थिक विकासतर्फ ४ करोड ६६ लाख ५० हजार रुपैयाँ छुटाइएको छ। कृषि तथा खाद्य सुरक्षाका लागि १ करोड ९३ लाख रुपैयाँ, पर्यटन तथा संस्कृति प्रवर्द्धनका लागि १ करोड ६ लाख ५० हजार रुपैयाँ, पशुसेवाका लागि ६९ लाख ५० हजार रुपैयाँ र श्रम, रोजगार तथा गरिबी निवारणका लागि ५८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।

कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउने उद्देश्यले कृषि प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने भएको छ। गाउँपालिकाले धार्चेमा कृषि उत्पादन वृद्धि, किसानको क्षमता विकास र आयआर्जन विस्तारका लागि मिनी सुपरजोन स्थापना गर्ने योजना समेत बजेटमा समावेश गरेको छ।

पर्यटन क्षेत्रलाई स्थानीय आर्थिक विकासको आधारका रूपमा लिँदै पदमार्ग विकास, संस्कृति संरक्षण र पर्यटकीय सम्भावनाको उपयोगमा जोड दिइएको छ। धार्चेको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ।

वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्राकृतिक विपत्ति र जोखिम न्यूनीकरणका लागि विपद् व्यवस्थापन कोषमा ४० लाख रुपैयाँ छुटाइएको छ।

सुशासन तथा संस्थागत विकासतर्फ ११ करोड २१ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाले सेवा प्रवाह सुधार, वित्तीय अनुशासन, पारदर्शिता र जबाफदेही स्थानीय शासन प्रणाली विकासमा जोड दिने जनाएको छ।

यसैबीच गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई समेत प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। सीमित स्रोतसाधन, भौगोलिक कठिनाइ, सेवा प्रवाहको चुनौती र संघ तथा प्रदेश अनुदानमा निर्भरतालाई स्थानीय सरकारका प्रमुख चुनौतीका रूपमा लिँदै आगामी वर्ष योजना कार्यान्वयन र अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाइने गाउँपालिकाले जनाएको छ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका अधिकार संरक्षणका कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक समावेशीकरणलाई समेत बजेटले प्राथमिकता दिएको छ।

स्थानीय स्रोतको अधिकतम उपयोग, कृषि तथा पर्यटन प्रवर्द्धन, पूर्वाधार विस्तार र नागरिकमैत्री सेवा प्रवाहमार्फत ‘समृद्ध धार्चे’ निर्माण गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ