+
Search

ताजा अपडेट +

पपुलर +

करका दर हेरफेर विवाद :

अर्थमन्त्री वाग्लेको चेतावनी- ‘तपाईंहरूका काण्ड पनि खुल्नेछन्’

कर हेरफेर र बजेट छेडछाडको आरोप अस्वीकार, ‘दुई रुपैयाँ बेइमानी देखिए मन्त्री पद मात्र होइन, सार्वजनिक जीवन छाड्छु’

पालिका लाइभ
२०८३ जेष्ठ २९, शुक्रबार

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको भन्ने आरोपको संसद्मा कडा प्रतिवाद गरेका छन्।

उनले आफूमाथि लगाइएका आरोपलाई निराधार भन्दै आफूबाट दुई रुपैयाँ बराबरको पनि बेइमानी भएको प्रमाणित भए मन्त्री पद मात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले विपक्षी सांसदहरूले लगाएका आरोपको खण्डन गरेका हुन्। केही सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार बनाएर विपक्षी सांसदहरूले संसद्मा पेश गरिएको बजेटमा अर्थमन्त्रीले हस्तक्षेप गरी करका दर परिवर्तन गरेको र केही व्यवसायीलाई लाभ पुग्ने व्यवस्था गरेको आरोप लगाएका थिए।

अर्थमन्त्री वाग्लेले भने ती आरोप अस्वीकार गर्दै सरकारले सुशासनलाई मुख्य एजेन्डा बनाएर काम गरिरहेको अवस्थामा दुई महिनामै जनतालाई धोका दिने कल्पना गर्न नसकिने बताए।

उनले सांसदहरूलाई संसद्को गरिमा कायम राख्न आग्रह गर्दै भने, ‘स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा बसेर कुटुकुटु कर चलायो, व्यापारी पोस्यो भन्ने खालका कुरा पनि सुनिए। सांसदहरूले आफ्नो गरिमा आफैँ राख्नुपर्छ। यो सदनको ओज घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको र जनताले त्यो कठोर प्रतिबद्धतालाई अनुमोदन गरेको दुई महिनामै हामी धोका दिन सक्छौँ र? सक्दैनौँ।’

आफूमाथि लागेको आरोपप्रति स्पष्ट चुनौती दिँदै उनले भने, ‘मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ। केही खोस्टाहरूले दुई अर्बको आशंका भनेर लेखे। दुई अर्ब होइन, दुई रुपैयाँ बदमासी, बेइमानी मबाट भएको भेटिएमा म मन्त्री पद त्याग्छु। सार्वजनिक जीवनबाट समेत बाहिरिन तयार छु। केवल दुई रुपैयाँ।’

उनले आफूलाई आरोप लगाउने सांसदहरूलाई पनि समान नैतिक साहस देखाउन आग्रह गरे। ‘यो नैतिक आँट र उचाइ मप्रति औँला ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ,’ उनले भने।

यस क्रममा उनले विपक्षी सांसदहरूतर्फ संकेत गर्दै थप टिप्पणी गरे, ‘तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्।’

अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा कर्मचारी तहबाट भएका केही प्राविधिक त्रुटि विधिसम्मत प्रक्रियाबाट सच्याइएको स्पष्ट पार्दै त्यसलाई करको दर परिवर्तन वा बजेट छेडछाडका रूपमा व्याख्या गर्नु गलत भएको बताए।

बजेटमाथिको छलफलका क्रममा विपक्षी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकार सुशासन, पारदर्शिता र जबाफदेहिताको प्रतिबद्धताबाट पछि नहट्ने पनि बताए।

अर्थमन्त्रीको भनाइ यस्तो थियो :

स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा बसेर कुटुकुटु कर चलायो, व्यापारी पोस्यो भन्ने कुराहरू सुनिए । सांसदले आफ्नो गरिमा आफै राख्नुपर्छ । सम्मानित संसद्को ओज घटाउने कामतिर हामी जानु हुँदैन । सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनको कठोर कटिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै हामी धोका दिन सक्छौँ होला ? सक्दैनौँ ।

मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ । केही ‘खोस्टाहरूले’ लेखे, दुई अर्बको आशंका इत्यादि भनेर । दुई अर्ब होइन, दुई रुपैयाँ बदमासी, बेइमानी मबाट भएको भेटिएमा म मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवनबाट त्याग्न तयार छु । केवल दुई रुपैयाँ । यो नैतिक आँट र उचाइ मप्रति औँला ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस शुभकामना छ । तपाईंहरुको काण्डबारे हामी अनभिज्ञ हो र ?’

यति भनेर अर्थमन्त्री वाग्लेले आफूमाथि लागेका आरोपहरूको तथ्यपरकरुपमा खण्डन गरेका थिए । उनले आर्थिक विधेयकमा कर्मचारी तहबाट भएका केही त्रुटिहरूलाई विधिसम्मत तरिकाले सच्याएको र यसमा कुनै छलछाम नभएको प्रस्टीकरण दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ