+
Search

ताजा अपडेट +

पपुलर +

असन क्षेत्र बैशाख ५ गतेदेखि हरेक शनिबार ‘भेहिकल फ्री’

पालिका लाइभ
२०८२ चैत्र २६, बिहीबार

काठमाडौं– वैशाख ५ गतेदेखि हरेक शनिवार असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिने भएको छ। सो दिन त्यहाँ सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप आयोजना गरिने भएको छ।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले वैशाख ५ गतेबाट यो कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो। यसअघि चैत २८ गतेदेखि यो नियम लागू गर्ने भनिएको थियो।

‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो। यसको प्राचीन र सांस्कृतिक महत्त्व जोगाउनु हाम्रो दायित्व हो,’ डंगोलले भनिन्, ‘वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरूको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ। थालिएको कामलाई दिगो बनाऔँ।’

आवागमन र स्थानीयवासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।

त्यसक्रममा वडाध्यक्ष योगेशकुमार खड्गीले यो कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्ने विश्वास व्यक्त गरेका थिए।

‘भेहिकल फ्री असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं. २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिति चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिवार सवारी साधन प्रवेशमा रोक लगाइनेछ। यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ।

यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गर्ने महानगरको तयारी छ। मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप सञ्चालन गरिनेछ।

‘भेहिकल फ्री असन’ सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ