काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले सम्भावित सरकार गठनको तयारीसँगै आफ्नो स्वकीय सचिवालय निर्माण प्रक्रिया अघि बढाएका छन्। स्रोतका अनुसार उनले निजामती सेवातर्फबाट प्रदीप परियारलाई आफ्नो सचिवालयमा ल्याउने तयारी गरेका छन्।
साहले सरकारको नेतृत्व गर्ने भएपछि सचिवालय गठनको गृहकार्य तीव्र बनाएका हुन्। परियारलाई निजामती कर्मचारीको तर्फबाट सचिवालय सम्हाल्ने गरी तयारी भइरहेको स्रोतको दाबी छ।
निजामती सेवामा कम उमेरमै उल्लेखनीय उपलब्धि हासिल गरेका परियार सम्भवतः सबैभन्दा कम उमेरमा सहसचिव बन्ने रेकर्ड कायम गरेका व्यक्ति हुन्। २०४६ साल वैशाखमा जन्मिएका उनी ३२ वर्षको उमेरमै सहसचिव बनेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहेका परियार २०७८ चैतमा खुला प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएका थिए। दुई पदका लागि खुलाइएको प्रतिस्पर्धामा उनीसँगै गुल्मीका सुरेश पन्थीको नाम सिफारिस गरिएको थियो।
पर्वतको फलेवास स्थायी ठेगाना भएका परियारले काठमाडौं महानगरपालिकामा साहसँगै काम गरेका थिए। २०८० माघमा कार्यकारी अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिइएपछि संघ सरकारले परियारलाई कार्यकारी अधिकृत बनाएर महानगर पठाएको थियो।
महानगरमा करिब सात महिना कार्यरत रहेका परियारलाई २०८१ भदौ २७ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको थियो।
हाल बालेनले सरकार गठनको सम्भावनासँगै विश्वासिला र दक्ष कर्मचारीलाई आफ्नो टोलीमा समेट्ने प्रयास गरिरहेका बेला परियारलाई स्वकीय सचिवालयमा ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ।
प्रतिक्रिया