काठमाडौं– प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक चित्रमा उल्लेखनीय परिवर्तन ल्याएको छ। यसपटक संसदमा ६ दलले मात्र राष्ट्रिय दलको दर्जा पाएका छन्। नयाँ उदाउँदो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठुलो दल बनेको छ भने परम्परागत दलहरू उल्लेखनीय रूपमा कमजोर भएको देखिएको छ।
निर्वाचन परिणामअनुसार रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने समानुपातिकतर्फ ५७ सिट पाउने निश्चित छ। यससँगै रास्वपाको कुल सिट संख्या १८२ पुगेको छ, जुन दुईतिहाइ बहुमतका लागि आवश्यक सिटभन्दा केवल दुई सिटले कम छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकबाट २० सिट पाउने अनुमान गरिएको छ। यसअनुसार कांग्रेसको कुल सिट संख्या ३८ पुगेको छ। अर्को परम्परागत दल एमालेले प्रत्यक्षतर्फ ९ सिट जितेको छ र समानुपातिकबाट १६ सिट पाउने देखिएको छ, जसअनुसार कुल सिट संख्या २५ हुनेछ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ ८ सिट जितेको छ भने समानुपातिकबाट ९ सिट पाउने अनुमान गरिएको छ, जससँगै कुल सिट संख्या १७ पुगेको छ। श्रम संस्कृति पार्टी ले प्रत्यक्षमा ३ र समानुपातिकमा ४ सिट जितेर कुल ७ सांसद पाउने छन्। राप्रपाले प्रत्यक्षतर्फ १ र समानुपातिकबाट ४ सिट पाउने भएकाले संसदमा ५ सांसद रहनेछन्। यसपटक स्वतन्त्र उम्मेदवार महावीर पुन पनि संसदमा प्रवेश गर्न सफल भएका छन्।
निर्वाचनले धेरै स्थापित दलहरूलाई संसद् बाहिर पुर्याएको छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरीसँग सम्बन्धित नागरिक उन्मुक्ति पार्टी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र प्रेम सुवाल नेतृत्वको नेपाल मजदुर किसान पार्टी संसदमा प्रवेश गर्न असफल भए।
त्यस्तै, डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार मिलेर गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन। समानुपातिकमा मात्र २४ हजार ४२४ मत प्राप्त भएको छ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको प्रदर्शन पनि कमजोर रह्यो। लोडसेडिङ हटाएर लोकप्रिय बनेका कुलमानको दलले प्रत्यक्षमा कुनै सिट जित्न सकेन र समानुपातिकमा अन्य दलको चुनाव चिन्ह प्रयोग गर्दै १ लाख ७२ हजार मत मात्र पायो।
बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेतसहितले गठन गरेको गतिशील लोकतान्त्रिक पार्टी ले पनि कमजोर प्रदर्शन गर्यो। यसले समानुपातिकमा केवल ५ हजार १०१ मत प्राप्त गर्यो। लामो समयपछि निर्वाचनमा सहभागी नभएको विप्लव नेतृत्वको नेकपा (माओवादी) ले प्रत्यक्षतर्फ सिट जित्न सकेन र समानुपातिकमा २३ हजार ८३४ मत मात्र पाए।
यस निर्वाचनले स्पष्ट देखाएको छ कि मतदाताले साना दलहरूलाई किनारा लगाएका छन्। लामो समयदेखि चल्दै आएको भागबन्डा र पुराना राजनीतिक अभ्यासप्रति असन्तुष्ट जनताले नयाँ नेतृत्वलाई अवसर दिने संकेत गरेका छन्। रास्वपाले सबैभन्दा ठुलो जनमत प्राप्त गरेर संसदमा बलियो उपस्थिति जनाएको छ, तर दुईतिहाइ बहुमत नपुगेपछि अब अन्य दलसँग सहकार्य आवश्यक देखिन्छ।
कांग्रेसलाई मतदाताले पूर्ण रूपमा अस्वीकार नगरी केही राजनीतिक स्थान दिएको छ, तर एमालेको कमजोर प्रदर्शनले दलभित्र पुनर्संरचना र आत्मसमिक्षाको आवश्यकता स्पष्ट पारेको छ। २२ भन्दा बढी दल र समूह मिलेर बनेको नेकपाको प्रयोग पनि सफल हुन सकेन, जसले कम्युनिस्ट एकताले मात्र सफलता सुनिश्चित नहुने सन्देश दिएको छ।
त्यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको संसद् प्रवेशलाई नयाँ राजनीतिक शक्तिको उदयका रूपमा हेरिएको छ। प्रत्यक्षमा ३ र समानुपातिकमा ४ सिट जितेर यो दल राष्ट्रिय दलको दर्जा पाएको छ।
अर्कोतर्फ, राजतन्त्र र हिन्दु अधिराज्यको एजेन्डा बोकेको राप्रपालाई मतदाताले अस्वीकार गरेका छन्। जुम्लाबाट व्यक्तिगत प्रभावका आधारमा ज्ञानेन्द्र शाही विजयी भए तापनि समानुपातिकमा मत आधा घटेको छ।
निर्वाचनले नेपालको राजनीतिक संरचना परिवर्तनको दिशामा अघि बढिरहेको स्पष्ट संकेत दिएको छ। नयाँ शक्ति उदाएको छ, पुराना दल कमजोर भएका छन् र मतदाताले स्पष्ट सन्देश दिएका छन्। रास्वपा शक्तिशाली बनेको छ भने परम्परागत दलहरूको आधार कमजोर भएको छ। कांग्रेस र एमालेको संगठनात्मक आधार कमजोर हुँदै गएको देखिएको छ।
प्रतिक्रिया