काठमाडौं- प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। हालसम्म २८ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी रहँदा तीमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अग्रस्थानमा रहेका छन्।
अहिलेसम्म सार्वजनिक परिणामअनुसार रास्वपाले १०७ सिट जितिसकेको छ। त्यसैगरी नेपाली कांग्रेसले १५, नेकपा एमालेले ७, नेपाली कम्युनिस्ट पार्टीले ६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १, श्रम संस्कृति पार्टीले १ र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम अझै जारी छ। प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रहरूमा समानुपातिकतर्फको मतगणना पनि सुरु भइसकेको छ। समानुपातिकतर्फको मतगणनामा समेत रास्वपाकै अग्रता देखिएको छ।
विघटित प्रतिनिधिसभामा रास्वपा चौथो ठूलो दलका रूपमा रहेको थियो। तर यसपटक भने पार्टी स्पष्ट बहुमतसहित पहिलो शक्तिका रूपमा अघि आएको देखिन्छ। अघिल्लो प्रतिनिधिसभामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका कांग्रेस, एमाले र नेकपा भने यसपटक उल्लेख्य रूपमा कमजोर बनेका छन्।
रास्वपाले काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै निर्वाचनमा भाग लिएको थियो। २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयर पद जितेका बालेनले यसपटक मेयर पद त्यागेर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए।
रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै चुनाव लडेको थियो, र हालको नतिजाअनुसार पार्टीले एकल सरकार बनाउन सक्ने गरी बहुमततर्फ अग्रसर देखिएको छ। बालेन स्वयं झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए। उक्त क्षेत्र एमालेका अध्यक्ष केपी ओलीले ६ पटक जित्दै आएको क्षेत्रका रूपमा चिनिन्छ।
२०४८ सालदेखि झापामा प्रभावशाली उम्मेदवारका रूपमा रहँदै आएका ओलीलाई पराजित गर्दै बालेन झापा–५ बाट निर्वाचित भएका छन्। बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा पूर्वप्रधानमन्त्री ओलीले १८ हजार ७३४ मत पाए। दुवैबीच ४९ हजार ६१४ मतको फराकिलो अन्तर रहेको छ।
रास्वपाकी सोविता गौतमले अब बालेनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएकी छन्। गौतम आफैँ पनि चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। निर्वाचन परिणामपछि पत्रकारहरूसँग कुरा गर्दै गौतमले पार्टीले निर्वाचनअघि नै बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिसकेकाले अब उनी नै प्रधानमन्त्री बन्ने स्पष्ट संकेत देखिएको बताइन्।
‘जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिनुभएको छ’, गौतमले भनिन्, ‘यो विश्वासलाई गम्भीरतापूर्वक लिएर हामी जिम्मेवारीका साथ अगाडि बढ्नेछौँ।’
प्रतिक्रिया