+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाको चुनावी समीकरणमा फेरबदल: प्रलोपाले कांग्रेससँग सहकार्य गर्ने

फाइल तस्बिर
पालिका लाइभ
२०८२ फाल्गुन १६, शनिबार

गोरखा- बाबुराम भट्टराई आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखामा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ।

पार्टीले गोरखाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय ञगरेको हो।

प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीका अनुसार समानुपातिकतर्फ भने पार्टीले आफ्नै चुनाव चिन्हमा मतदान गर्नेछ। ‘थप औपचारिक निर्णय आउँदैन। अहिलेको अवस्थामा कांग्रेससँग नै हाम्रो विचार मिलेको हो,’ उनले भने, ‘हामीले मौखिक रूपमा दुई पार्टी बसेर सहमति गरेका छौँ। अहिलेलाई कांग्रेससँग नै सहकार्य हुने भयो।’

जिल्ला नेतृत्वका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा विचार र एजेन्डा नजिक भएका शक्तिहरूबीच सहकार्य आवश्यक ठहर गर्दै निर्णय गरिएको हो।

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गर्दै भट्टराई गोरखा–२ बाट निर्वाचित भएका थिए। उक्त सहकार्यलाई निरन्तरता दिने सन्देशस्वरूप पुनः कांग्रेससँग सहकार्य गरिएको प्रलोपाले जनाएको छ।

हाल प्रलोपा पालुङटार नगरपालिका का वडा नं. १, ५ र ८ मा वडाध्यक्षसहित प्रतिनिधित्वमा रहेको छ भने गण्डकी प्रदेशसभामा एक जना प्रदेश सदस्य पनि रहेको छ।

गोरखामा चुनावी गतिविधि तीव्र बन्दै गइरहेका बेला प्रलोपाको यो निर्णयले स्थानीय राजनीतिक समीकरणमा प्रभाव पार्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ