गोरखा– संकटका बेला अग्रपंक्तिमा देखिने नामका रूपमा परिचित छन् गाेरखाका प्रेमकुमार खत्री। व्यवसायबाट आर्जित स्रोत–साधनलाई समाजमै फर्काउने अभ्यासका कारण उनी गोरखामा सामाजिक अभियन्ताका रूपमा चिनिन्छन्।
आरुघाट गाउँपालिका–८, आरुपोखरीमा जन्मिएका ४१ वर्षीय खत्रीले व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। युवावस्थामै पर्यटन व्यवसायमा प्रवेश गरेका उनले ऊर्जा र कृषि क्षेत्रमा समेत लगानी विस्तार गरेका छन्। व्यावसायिक यात्रासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने विश्वासका साथ उनी २२ वर्षको उमेरदेखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन्।
२०७२ सालको विनाशकारी गोरखा भूकम्पपछि राहत, उद्धार र पुनर्निर्माणमा उनको सक्रियता उल्लेखनीय रह्यो। घरबारविहीन विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको उनको सचिवालयले जनाएको छ । भूकम्पपछिको कठिन समयमा खाद्यान्न, अस्थायी आवास र स्वास्थ्य सामग्री वितरण गर्दै गाउँ–गाउँमा पुगेर सहयोग गरिएको थियो।
कोभिड–१९ महामारीका बेला पनि उनी स्वास्थ्य सामग्रीसहित दुर्गम बस्तीमा पुगे। गोरखाका ११ वटै स्थानीय तहमा १३ वटा एम्बुलेन्स उपलब्ध गराइएको तथा सात स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना र उपकरण सहयोग गरेका छन्। नियमित स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क जाँच र औषधि वितरणसमेत गरिएको थियो।
शिक्षा क्षेत्रमा ३० हजारभन्दा बढी विद्यार्थीलाई पोसाक, जुत्ता, झोला र शैक्षिक सामग्री वितरण गरिएको दाबी छ। आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षासम्म सहयोग, विभिन्न विद्यालयमा अक्षयकोष स्थापना, भवन र छात्रावास निर्माणमा पनि उनको संलग्नता रहेको बताइन्छ।
महिला र युवालाई लक्षित गर्दै १५० भन्दा बढी महिला समूहलाई आयआर्जन सामग्री सहयोग र १०५ युवा क्लबलाई खेलकुद सामग्री उपलब्ध गराइएको छ। मौलिक सांस्कृतिक परम्परा संरक्षण र कफी खेतीजस्ता कार्यक्रममार्फत ग्रामीण स्वरोजगार प्रवर्द्धनमा पनि पहल गरिएको छ।
‘सेवामार्फत परिवर्तन’ भन्ने नारासहित उनले ‘सम्भव नेपाल’ अभियान सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा संस्थागत कार्यक्रम अघि बढाएका छन्। सामाजिक कामलाई संस्थागत ढाँचामा लैजानुपर्ने उनको धारणा छ।
राजनीतिक रूपमा विद्यार्थी जीवनदेखि सक्रिय खत्री नेपाली कांग्रेस का महासमिति सदस्य हुन्। यसपटक उनी गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि बढेका छन्।
करिब डेढ दशकदेखि सामाजिक सेवामा सक्रिय खत्रीले पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा लगानीमार्फत रोजगारी सिर्जना गरेको दाबी गर्छन्। अब त्यस अनुभवलाई नीतिगत तहमा रूपान्तरण गर्ने लक्ष्यसहित उनी औपचारिक नेतृत्वको यात्रामा छन्। गोरखाली मतदाताले उनको सामाजिक योगदानलाई कसरी मूल्यांकन गर्छन्, त्यो भने आगामी निर्वाचनले तय गर्नेछ।
प्रतिक्रिया