काठमाडाैं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी चर्चामा रहेको निर्वाचन क्षेत्रमध्ये एक बनेको छ सर्लाही-४। नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार बनेपछि यो क्षेत्र अहिले देशभरकै राजनीतिक केन्द्रमा परेको छ।
सर्लाही–४ जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये एक हो। यस क्षेत्रमा धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलारा नगरपालिका, बरहथवा नगरपालिकाका वडा नम्बर १ देखि ४ र वडा नम्बर १३ देखि १५ सम्म, विष्णु गाउँपालिकाका वडा नम्बर १ देखि ४ सम्म तथा बासबरिया गाउँपालिकाका वडा नम्बर १ देखि ३ सम्म पर्दछन्। भौगोलिक र जनसांख्यिक हिसाबले मिश्रित बनोट भएको यो क्षेत्रमा यसपटक कुल १ लाख २१ हजार १२ मतदाता रहेका छन्।
निर्वाचनका लागि १५४ मतदान केन्द्र तोकिएका छन्।
२०७९ सालमा भएको निर्वाचनमा यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी भएका थिए। उनले २० हजार १७ मत प्राप्त गर्दै कांग्रेसका नागेन्द्र कुमारलाई पछि पारेका थिए। नागेन्द्र कुमारले १८ हजार २५३ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत ल्याएकी थिइन्। त्यस्तै जसपा नेपालका राकेस कुमार मिश्रले ५ हजार ८१३ मत, बहुजन एकता पार्टी नेपालका राजा राम पासवानले ५ हजार १५८ मत र जनमत पार्टीका राम बाबु रायले ३ हजार ४२९ मत प्राप्त गरेका थिए।
समानुपातिकतर्फको मत परिणाम हेर्दा पनि सर्लाही–४ को राजनीतिक बनोट रोचक देखिन्छ। २०७९ मा कांग्रेसले १६ हजार २९ मत पाएको थियो भने जनमत पार्टीले १२ हजार ५९५ मत ल्याएको थियो। तत्कालीन माओवादी केन्द्रले ९ हजार ७९० मत प्राप्त गर्दा एमालेले ९ हजार ४७१ मत पाएको थियो। बहुजन एकता पार्टी नेपालले ५ हजार ४४४, जसपा नेपालले ५ हजार १५२ र लोसपाले ३ हजार ६७३ मत प्राप्त गरेका थिए। रास्वपाले यस क्षेत्रमा १ हजार १९९ मत पाएको थियो।
यसपटकको निर्वाचनमा सर्लाही–४ झनै प्रतिस्पर्धात्मक बन्दै गएको छ। कांग्रेसका सभापति थापा यही क्षेत्रबाट उम्मेदवार बनेपछि क्षेत्रको राजनीतिक तातोपन थप बढेको छ। यसअघि स्वतन्त्र उम्मेदवार बनेर जित हासिल गरेका सिंह यसपटक रास्वपाबाट मैदानमा उत्रिएका छन्। एमालेबाट रविशंकर कुसवाह उम्मेदवार बनेका छन् भने राप्रपाबाट प्रदीप झा प्रतिस्पर्धामा छन्।
थापाको उम्मेदवारीसँगै सर्लाही–४ मात्र होइन, सिंगो मधेसकै राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ। कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा हेरिएका थापा सर्लाही आएपछि कांग्रेसले मधेसमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीति लिएको बुझिन्छ।
उनको आगमनपछि अघिल्लो निर्वाचनका विजेता सिंह केही डिफेन्सिभ अवस्थामा देखिएका छन्। कांग्रेसकै पूर्व नेता रहेका सिंह पछिल्लो समय विवादित अभिव्यक्ति र अस्थिर अभिवृत्तिका कारण आलोचित हुँदै आएका छन्। जनकपुरमा बालेन प्रधानमन्त्री नबने आत्मदाह गर्ने र केही दिनपछि थापाले जितेमा आत्मदाह गर्ने अभिव्यक्तिले उनको छवि थप विवादित बनेको छ।
अर्कोतर्फ थापा भने हाल पार्टीभित्रका विवाद मिलाउन व्यस्त छन्।
सर्लाही जानुअघि संगठन सुदृढीकरण र आन्तरिक एकता कायम गर्ने प्रयासमा रहेका उनी छिट्टै चुनावी अभियान लिएर सर्लाही पुग्ने तयारीमा छन्। वारेसमार्फत उम्मेदवारी दर्ता गरिसकेका थापाले सर्लाही पुगेर आफूलाई मतदातामाझ कसरी प्रस्तुत गर्छन् भन्ने कुराले चुनावी परिणाममा ठुलो भूमिका खेल्ने देखिन्छ।
अहिले नै नतिजा अनुमान गर्नु सहज छैन। अघिल्लो निर्वाचनको मत परिणाम र अहिलेको राजनीतिक अवस्था सिधै तुलना गर्न मिल्ने अवस्था छैन। एमाले, माओवादी, जसपा नेपाल, रास्वपा लगायत दलका उम्मेदवारले कति मत तान्न सक्छन् भन्ने कुराले अन्तिम नतिजालाई ठुलो प्रभाव पार्नेछ।
थापाको उम्मेदवारीले कांग्रेसलाई मधेसमा नयाँ ऊर्जा दिनेछ कि अघिल्लो विजेता सिंहले पुनः आफ्नो पकड कायम राख्नेछन्, त्यो भने मतदानपछि मात्र स्पष्ट हुनेछ। सर्लाही–४ यसपटक पनि राष्ट्रिय राजनीतिका लागि निर्णायक र प्रतीकात्मक क्षेत्र बन्ने संकेत देखिएको छ।
प्रतिक्रिया